INSEC Online

📅 २०८३ जेष्ठ २१

डेढ महिनादेखि टुलिङका स्थानीय खानेपानीबाट वञ्चित

सिमकोट गाउँपालिका–७ स्थित टुलिङ गाउँका ३० घरधुरी डेढ महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । ०८१ असार १८ गतेदेखि नियमित रूपमा परेको अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिरोका कारण गाउँको खानेपानीको मुहान बगाएर लगेपछि स्थानीयहरू खानेपानीबाट वञ्चित भएका हुन् ।

अविरल वर्षाका कारण आएको पहिरोले पानीको मुहान क्षति विक्षत बनाएपछि यस गाउँका स्थानीय हाल खोलाको धमिलो पानी खान बाध्य भएको स्थानीय अमरबहादुर शाहीले बताउनु भयो ।
उहाँका अनुसार पानीको मुहान बगाएपछि हाल कर्णाली नदिको लेदो बनेर आएको पानी खानु पर्दा विभिन्न रोगको सङ्क्रमण देखा पर्ने गरेको छ । उक्त पानी फिल्टर गर्ने कुनै साधन समेत नभएपछि दैनिक विभिन्न समस्या देखा पर्ने गरेको स्थानीय संगिता शाहीले गुनासो गर्नुभयो ।

पानीको मुहान मर्मतका लागि सिमकोट गाउँपालिकालाई अनुरोध गर्दा समेत सुनुवाई नभएको शाहीले उल्लेख गर्नुभयो । उक्त बाढीपहिरोले गाउँबासीको करिब ४० रोपनी खेतबारी बगाउनुका साथै उत्पादन भएको अन्न समेत क्षति बनाएको छ । पहिरोले गाउँको आधुनिक घट्ट, चिनो, कोदो, सिमी, फापर, आलु लगायतका अन्नबालीलाई तहसनहस बनाउँदा स्थानीयलाई बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको स्थानीयहरूको भनाइ छ ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले पानीको मुहान निर्माण गर्न केही समय लाग्ने भएकोले त्यसलाई समाधान गर्ने प्रक्रियामा आफूहरू लागि परेको बताउनु भयो ।

अन्य

भिडियो