१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालका—१० जुगेडाका ५८ वर्षीय सुकदेव रानालाई ०८१ भदौ २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन २८ गते मिल भित्र लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाले घटनाका बारेमा हजुरआमालाई जानकारी गरेपछि साउन २९ गते गाउँको भलमन्साको उपस्थितिमा आरोपितले गल्ती स्विकार गरेर ४ लाख रुपियाँ बालिकालाई दिने सहमती भएको थियो ।
घटनालाई मिलापत्रमा टुङ्गेउने प्रयास गरिएको भए पनि आरोपितका छोराहरुले ४ लाख रुपियाँ तिर्न नमानेपछि पीडित परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको धनगढी उपमहानगरपालिका—१० का वडाध्यक्ष शिवकुमार रानाले इन्सेक प्रतिनिधिकोसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ २ गते घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर लोकेन्द्रसिंह कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।