INSEC Online

📅 २०८३ जेष्ठ २१

बढ्दो बालविवाहले किशोरीहरूको स्वास्थ्यमा जोखिम

उमेर नपुग्दै हुने विवाह र सानै उमेरमा गर्भधारण गर्दा युवती तथा किशोरीहरूको स्वास्थ्यमा असर हुँदै आएको छ ।

नेपालको कानुनले ‘विवाहवारी २० वर्ष पारी’ भने पनि २० मुनिका युवतीहरूले बाल विवाह गर्दा गर्भधारण रही स्वास्थ्यमा विभिन्न खालका जोखिम खेप्नु परेको रुपन्देहीका जनस्वास्थ्य अधिकृत रिशव श्रेष्ठले बताउनु भयो । उमेर नपुगी सानै उमेरमा विवाह गर्दा किशोरीहरूको गर्भ रहेका कारण ज्यान जोखिममा रहने, गर्भमा राम्रोसँग हेरचाह गर्न नसक्ने, रक्तअल्पत्ता हुने, आमा र बच्चा दुबैको स्वास्थ्यमा जोखिम हुने, बच्चा जन्मिएपछि स्याहार सुसार गर्न नसक्ने, स्वास्थ्यमा नकारात्मक असर पर्ने, पछि गएर आङ खस्ने, पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुने उहाँले बताउनु भयो ।

भिम अस्पताल, भैरहवामा बाल विवाहका कारण विभिन्न समस्या भएर आउने किशोरी आमाहरूको सङ्ख्या प्रतिदिन बढ्दो छ । आर्थिक वर्ष ०७९/८० मा २० वर्ष मुनिका ९० जना युवतीले सानै उमेरमा विवाह गरेका कारण विभिन्न खालका समस्या लिएर अस्पतालमा उपचारका लागि आएका थिए । यस्तै ०८०/८१ मा २० वर्ष मुनिका १ सय जना किशोरी आमाले अस्पतालमा उपचार गराएका थिए । त्यस्तै ०७८/७९ मा १ सय १३ जना किशोरी आमाहरूले सानै उमेरमा विवाह र सानै उमेरमा बच्चा जन्माएको कारण तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रक्त अल्पत्ता, पाठेघरको सङ्क्रमण जस्ता समस्या लिएर आएको अस्पतालको तथ्याङ्कमा रहेको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा २० देखि २४ उमेर समूहका ३४.९ प्रतिशत र ७ प्रतिशत पुरुषको विवाह १८ वर्षमै भएको देखाउँछ । त्यस्तै १५ वर्षदेखि १९ वर्ष उमेर समूहका ७८.४ प्रतिशत अविवाहित उल्लेख भएकोमा २१.६ प्रतिशत विवाह भएको र त्यसमध्ये २०.८ प्रतिशत विवाह १५ वर्षको उमेरमै भएको देखिन्छ । तथ्याङ्क अनुसार सबैभन्दा कम उमेरमा विवाह गर्ने गरिब र सीमान्तकृत समुदायका बालबालिका रहेका छन् । जसमा दलित, जनजाती, मधेशी, मुस्लिम समुदायहरू अन्य समुदायको तुलनामा बढी देखिन्छन् ।

नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हकको रूपमा स्थापित गरेको छ । यी कार्यहरूलाई सङ्घीय कानुन बमोजिम दण्डनीय हुने गरी प्रतिबन्ध लगाएको छ र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरिएको छ । त्यस्तै मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले बालविवाह गर्ने व्यक्तिको उमेर २० वर्ष तोकेको छ । तर, रुपन्देहीमा उमेर नपुग्दै हुने विवाह र सानै उमेरमा गर्भधारण गर्दा युवती तथा किशोरीहरूको स्वास्थ्यमा असर हुँदै आएको छ ।

अन्य

भिडियो