INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन समस्या भएको अपाङ्गता भएका व्यक्तिको गुनासो

अपाङ्गमैत्री भौतिक संरचना निर्माण नहुँदा मुगु जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई सेवा लिदा समस्या भोग्नु परेको अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन ।

भौतिक संरचना निमार्ण गर्दा अपाङ्गमैत्री भवन बनाउनु पर्ने नेपाल सरकारले नीति ल्याएको भएपनि व्यवहारमा कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिले सेवा लिदा समस्या भोग्ने गरेका छन ।

छाँयानाथ रारा नगरपालिका–१३ का धनसिंह कामी उमेरले ४० वर्ष पुगिसकेका छन् । शारीरिक अपाङ्गगताको कारण आफ्नो शरीर वैशाखीको भरमा चलाउनु पर्ने उहाँ बताउनु हुन्छ । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिका लागि सवारी साधनको सिट र सेवा लिने स्थान अपाङ्गमैत्री हुनुपर्ने भनेता पनि आफूलाई सेवा लिने कुनै पनि ठाँउमा सजिलो नभएको बताउनु हुन्छ । आफ्नो गाउँ लुममा भएको स्वास्थ चौकीमा जान पनि आफूलाई गाहे हुने र छाँयानाथ रारा नगरपालिकाले चलाउने गरेको नगर बसमा अपाङ्गता भएका व्यक्तिको लागि सिट सिमित भनिए तापनि अहिलेसम्म अपाङ्ग सिट त के आफूले बसमै बस्ने अवसरसम्म नपाएको गुनासो गनु भयो ।

जिल्लामा भएका चार ओटै स्थानीय तह सोरु गाउँपालिका, खत्याड गाउँपालिका, छाँयानाथ रारा नगरपालिका र मुगम कारमारोङ्ग गाउँपालिकाका भवन समेत अपाङ्ग मैत्री छैनन् ।

२०७८ सालको जनगणना अनुसार जिल्लामा १ हजार ७ सय ५६ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । ६४ हजार ५ सय ४९ जनसङ्ख्या भएको जिल्लामा करिब १ हजार ७ सय ५६ जना अपाङ्गता भएका व्यक्ति हुँदा सम्बन्धित सरोकारवाला निकायले अपाङ्गमैत्री भवन निर्माणमा भने चासो दिएको देखिदैन ।

मुगु जिल्लाको जिल्ला अस्पताल बाहेक अरू कुनै कार्यालय अपाङ्गमैत्री छैनन् । यसैगरी मुगुका अधिकांश विद्यालयका भवन अपाङ्गमैत्री छैनन । जिल्लामा आधारभूत विद्यालय १ सय १०, माध्यमिक विद्यालय ३०, उच्च मावि दुई र निजी नौ गरी १ सय ४१ विद्यालय रहेका छन् । यी विद्यालयमा अपाङ्गता भएका बालिका ६८ जना र बालक ४३ जना अध्ययरत रहेका छन् । जिल्लामा अपाङ्गतामैत्री विद्यालय दुई ओटा मात्रै छन् ।

केही गैरसरकारी निकायको सहयोगमा विद्यालयका शौचालय अपाङ्गमैत्री बनाइएको छ । विद्यालयका शौचालय अपाङ्ग मैत्री भएपनि पानीको अभावका कारण प्रयोगमा आउन सकेका छैनन ।

सेवाग्राहीहरू बढी आउने कार्यालय, सरकारी तथा निजी विद्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, हुलाक, जिल्लामा भएका सम्पूर्ण स्वास्थ्य चौकी र जिल्लामा भएका सबै बैंक अपाङ्गमैत्री छैनन् ।

अपाङ्गता भएका व्यक्ति स्वास्थ्य संस्थामा गएर सहजै सेवा पाउने अवस्था छैनन ।सोरु गाउँपालिका– ९ कालैका मनिचन्द्र चौलागाईंले पनि सेवालिन सहज नभएको गुनासो गर्नुहुन्छ । राष्ट्रिय वाणिज्य बैंकमा भेट्दा उनलाई केही कुरा सोध्ने अवसर मिलेको थियो । उनी शारीरिक अपाङ्गता भएका व्यक्ति हुन उनलाई कुनै पनि घरको तला चढ्दा तल माथि गर्न आफूलाई धेरै गाह्रो हुने बताउनु हुन्छ । मुगुको राष्ट्रिय वाणिज्य बैंक घरको तीन तला माथि भएको र आफू शरीरमा अशक्त भएको कारण तल माथि गर्न धेरै गाह्रो भएको उहाँले गुनसो गर्नु भयो । मुगुमा भएका सबै बैंकको अवस्था यही हो सबै बैंकहरू प्रायः तीन चार तला माथि नै राखेर सेवा दिने गरेका छन् अपाङ्गता, वृद्ध आमा बुबा र गर्भवती भएका महिलाहरूका लागि तल माथि गर्न जोखिम पूर्ण हुने गरेको छ ।

छाँयानाथ रारा नगरपालिका–११ की रिठु बुढाको पनि यस्तै गुनासो रहेको छ । उहाँलाई नगरपालिकामा काम पर्दा नगरपालिकाको सेवा लिन जादाआउदा कतिको सजिलो छ ? भनेर सोध्दा आफू गर्भवति भएको र नगरपालिकामा काम भएको बेला जाँदा आफूलाई नगर पालिकाको भवनको तलमाथि आउन र जान गाह्रो हुने गुनासो गर्नु भयो । आफूलाई मात्र नभएर नगरमा काम पर्दा जाने गर्भवती महिला, साना बालबालिका, वृद्ध आमा बुवा र अपाङ्गगता भएका व्यक्तिका लागि कार्यालय भवन सेवाग्राही मैत्रीपूर्ण नभएकाले सेवा लिनलाई आउन जान भर्याङको भरमा तल माथि गर्नुपर्ने भएको कारण गाह्रो हुने रिठु बुढाले बताउनु भयो ।

कतिपय ठाँउमा अपाङ्गमैत्री भवन निर्माण नभएर अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन समस्या भएको छ भने अझ बढी भौगोलिक विकटताको कारण बाटोको समस्याले झन समस्या माथि समस्या थपिएको सोरु गाउँपालिका–९ की जुनतारा योगीले गुनासो गर्नु भयो ।
20240730Mugu

अन्य

भिडियो