INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्मला हत्या प्रकरणः हत्या भएको ६ वर्ष वितिसक्दा पनि पत्ता लागेनन् दोषी !

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्षे वितिसक्दा समेत घटनामा संलग्न व्यक्ति पत्ता लाग्न सकेको छैन् । २०७५ साउन १० गते दिउँसो साथीको घरमा पढ्न गएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको मृत शरीर साउन ११ गते बिहान भीमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा फेला परेको थियो ।

घटनामा संलग्नहरुको पहिचान गर्ने भन्दै यस ६ वर्षको अवधिमा अनुसन्धान अधिकृतको नेत्तृत्वमा टोलीहरु गठन गरी अनुसन्धान गरिदै आइएको भनिएता पनि अहिलेसम्म घटनामा संलगन व्यक्तिहरुको पहिचान हुन नसकेको छैन् ।

घटना लगत्तै केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्कालीन डिएसपी अंगुर जिसी र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धान टोलीले निर्मलाको हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।  मानसिक अवस्था समेत ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि वास्तविक हत्यारा बचाउन नक्कली खडा गरेको भन्दै आफन्त तथा स्थानीयहरुले आन्दोलन गरेका थिए । घटनामा संलग्न भएको भन्दै सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डिएनए परीक्षण प्रतिवेदन नमिलेपछि विष्टलाई छोडिएको थियो ।

निर्मलाको न्यायका लागि भन्दै सुरु भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ०७५ भदौ ८ गते १७ वर्षीय बालक सन्नी खुनाले ज्यान गुमाएका थिए ।  प्रहरीले अनुसन्धानमा लापरबाही गर्दा प्रमाण नष्ट भएको आरोपमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी  डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिशप्रसाद भट्टलाई बर्खास्त समेत गरिएको थियो ।

अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जीसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरीसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई पनि गृह मन्त्रालयले निलम्बन गरेको भए पनि अदालतबाट प्रमाण नष्ट गरेको तथा यातना दिएको नपाइएको भन्दै  सफाइ दिएपछि उहाँहरुको निलम्बन फुकुवा गरिएको थियो ।

निर्मलाको न्यायका लागि सुरु भएको आन्दोलनपछि गृह मन्त्रालयले ०७५ भदौ ७ गतेदेखि हालसम्म ६ ओटा उच्चस्तरीय छानविन तथा अनुसन्धान समिति निर्माण गरेका भए पनि निर्मला पन्तको हत्या घटनामा संलग्नहरु पत्ता लगाउन सकेन् ।

छोरी हत्याभएदेखि न्यायका सम्बन्धीत सबै निकायहरुमा धाउदै अएको भए पनि आफूहरुले न्याय पाउन नसकेको पीडितकी आमा दुर्गादेवी पन्तले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘अपराधी खोजीदिनुस् भन्दै राज्यसँग हारगुहार गर्दागर्दै ६ वर्ष वितिसक्यो । खै कहिले पत्ता लाग्ने हो ? अब त आशा नै मरिसक्यो । अपराधी पत्ता लाग्ला भन्ने आश नै मरिसकेको छ । अहिलेका गृहमन्त्री रमेश लेखक कञ्चनपुर जिल्लाको यही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले पुनः झिनो आशा भने पलाएको छ । बलात्कारी हत्यारा पत्ता लगाएर कानुनबमोजिम सजाय भएको सुन्ने ईच्छा  छ ।’

प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनाकी आमा आमा मञ्जुराजी खुनाले सरकारले अपराधी पत्ता लगाई कारवाही गर्ने आवश्वासन दिने गरेको भए पनि अपराधि पत्ता नलगाइएको र निर्मला पन्तको न्यायका लागि आफ्नो  छोराले समेत ज्यान गुमानु परेको गुनासो गर्नु भयो ।

महिला अधिकारकर्मी शारदा चन्दका अनुसार ६ वर्षसम्म पनि निर्मलाका हत्यारा गिरफ्तारीमा नपर्नु दुःखद खबर भएको बताउनु भयो  । वर्तमान गृहमन्त्री रमेश लेखक यसै जिल्लाको हुनुभएकोले निर्मलाले न्याय पाउने आशा राखिएको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी चक्रराज जोशीले निर्मला हत्याकाण्डको नियमित अनुसन्धान प्रक्रिया जारी रहेको र हालसम्म ६ सय ५६ बढी आशंकित व्यक्तिहरूमाथि अनुसन्धान गरिएको र  अहिले पनि एक जनामाथि अनुसन्धान भइरहेको बताउनु भयो ।’

१ सय २४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको र केहीलाई थुनामा रोखर पनि अनुसन्धान गरिएको भए पनि अपराधी अझै पत्ता लाग्न नसकेको बताउँदै अपराध अनुसन्धान जटिल कार्य भएकोले प्रहरीले निरन्तर रुपमा अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो