निर्वाचन आयोगले असोज १९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
आयोगको सहमति बिना नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री देवलाई २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज १९ गते बसेको बैठकले मन्त्री देवसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई असोज ९ गते आयोगको सहमति बिना नै स्वेच्छाचारी र बदनीयत ढङ्गले त्यस मन्त्रालयमा गठन भएको कार्यदलमा कामकाज गर्न जिम्मेवारी तोक्ने निर्णय गरी निज गौतमलाई पत्र दिइएको देखिएको, महानिर्देशकलाई हाजिर हुन पत्र पठाएपछि सोही मितिमा आयोगमा सहमतिका लागि पत्र लेखेको देखिई निर्वाचन आचारसंहिताको अवहेलना हुने गरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनु पर्ने हो, होइन ?’ आयोगले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
आयोगले मन्त्री देवलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जबाफसहित आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्नुपर्ने जनाएको छ ।