INSEC Online

📅 २०८३ जेष्ठ २१

उमेर नपुग्दै सुत्केरी हुनेको सङ्ख्या बढ्दो

जिल्लामा उमेर नपुग्दै सुत्केरी हुनेहरूको सङ्ख्या बढ्दो छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा २० वर्षभन्दा कम उमेरका ४ सय ५२ जना सुत्केरी भएको पाइएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा २० वर्ष मुनीका ५ सय ७४ जना सुत्केरी भएका छन् । चालु आर्थिक वर्षको २०८०/८१ मा ४ सय ५२ जना सुत्केरी भएका छन् । बालविवाह न्यूनीकरण गर्नका लागि सरोकारवाला निकाय, स्थानीय सरकार, इन्सेक लगायत विभिन्न सङ्घसंस्थाले सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर पनि सुत्केरी हुनेको सङ्ख्यामा कमी आउन सकेको छैन ।

मुलुकी देवानी संहिता ऐन २०७४ ले विवाह गर्नका लागि न्यूनतम २० वर्ष पुग्नु पर्ने परिभाषित गरेको छ । यस्तो विवाह गरे वा गराइए सजाय हुने र विवाह पनि खारेज हुने व्यवस्था छ । तर यति हुँदाहुँदै पनि बालविवाह गर्ने र कम उमेरमा सुत्केरी हुनेको सङ्ख्या हेर्दा अवस्था चिन्ताजनक देखिएको छ ।

राजापुर प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले सानो उमेरमा विवाह गर्दा महिलाहरूको स्वास्थ्य विभिन्न समस्याहरू देखिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘प्रजनन् अङ्ग परिपक्क नहुँदा गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसुति हुँदा रक्तश्राव अत्यधिक हुने, आमा र बच्चाको ज्यान समेत जान सक्ने, यौन अङ्ग बढी च्यातिने, अप्रेसन गर्नुपर्ने र केहीमा मानसिक समस्याहरू पनि देखिने हुन्छ ।’

कम उमेर हुने बालविवाहलाई न्यूनीकरण गर्न सरोकारवाला निकाय लागि रहेपनि सोचे अनुसारको नतिजा प्राप्त हुन नसकेको स्वास्थ्य कार्यालय, बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बताउनु भयो । उहाँका अनुसार बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम हुँदै आए पनि कम उमेरमा सुरक्षित मातृत्व सेवा लिनेको सङ्ख्या अत्यधिक छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरी भन्नुहुन्छ, ‘बालविवाहको स्वरुप र संरचनामा व्यापक परिवर्तन आएको छ । हाल अभिभावकहरूको दबाबमा हुने बालविवाह न्यून र बालबालिका स्वयम् भागेर गर्ने विवाह अत्यधिक रहेको छ । अभिभावकको अनुमति विना विवाह गर्ने र पछि पारिवारिक, सांस्कृतिक समस्या परेपछि परिवारले स्वीकार्न बाध्य हुने गरेको छ ।’

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालबिवाह, गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनिए जिल्लामा उमेर नपुग्दै सुत्केरी हुनेहरूको सङ्ख्या बढ्दो छ ।

बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डेले २० वर्ष पुरा नभई विवाह गर्दा विवाह दर्ता नहुने, बच्चाको जन्मदर्तामा प्रश्न उठ्ने, विवाह दर्ता नहुँदा विभिन्न कानुनी समस्या आउने गरेको बताउनु भयो । उहाँले कम उमेरमा विवाह गर्दा महिलाहरूलाई कानुनी हैतियतबाट प्राप्त हुने अधिकारबाट वञ्चित हुनुपर्ने बताउनु भयो । बालविवाह मानव अधिकारको गम्भीर उल्लङ्घन पनि हो । तर लुकुछिपी विवाह गर्ने र २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्नेको सङ्ख्या अझै पनि रहेको छ ।

अन्य

भिडियो