INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका-६ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका-६ डेरा गरी बस्ने ३१ वर्षीया टिका रावतको हत्या गरेको आरोपमा कपुरकोट गाउँपालिका-६ घर भइ ज्वाला दलगण बारामा कार्यरत नेपाली सेनाका सहायक अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीलाई प्रहरीले ०८१ जेठ २५ गते गिरफ्तार गरेको छ ।

रावतलाई डेरामा बसिरहेका बेला जेठ २५ गते बिहान बुढाथोकीले घाँटी र हातमा खुँडा प्रहार गरेका थिए । गम्भीर घाइते रावतलाई उपचारकाे लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएकाेमा डाक्टरले मृत घोषणा गरेको थियो । मृतकसँगै बसेका अछाम कमलबजार नगरपालिका-४ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका-१९, बाहिनीमा कार्यरत नेपाली सेनाका जवान २९ वर्षीय आर्यन थापा पनि खुडा प्रहारबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

घाइते थापाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते थापाका अनुसार टिका र शालिकरामले जेठ १४ गते सम्बन्ध विच्छेद गरेका थिए । मृतक टिका र शालिकरामको सात वर्षीय छोरा छन् । शालिकराम शान्ति मिसनबाट जेठ ६ गते विदामा घर आउँदा टिका र आर्यन सम्बन्धमा रहेको थाहा पाएका थिए । आर्यनसँग विवाह गर्न शालिकरामसँग सम्बन्ध विच्छेद गरी सँगै बसेको बेला शालिकरामले आफ्नो पूर्वपत्नीसँग विवाहको तयारीमा रहेका आर्यन थापामाथि खुँडा प्रहार गरेको डिएसपी मल्लको भनाइ छ । मृतकको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको र आफन्त आएपछि पोष्टमार्टम गरिने अस्पतालले जनाएको छ ।

अन्य

भिडियो