पोखरा महानगरपालिका– ३२ राजाको चौतारा नजिकै रहेको यूनिभर्स अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालक अंग्रेजी शिक्षक सुदीप अधिकारीको कुटाइबाट घाइते हुनुभएको छ ।
बालकलाई गृहकार्य दिएको र अक्षर नराम्रो भएको भन्दै जेठ १३ गते शिक्षकले कुटपिट गरेको बालकको अभिभावकले बताउनुभयो । शिक्षकले लठ्ठीले कुट्दा बालकको पिठ्यूमा गहिरो चोट लागेको साथै निल डाम भएको छ । स्कुल गएको छोरा घर आउँदा बस्न नसकेपछि बाबुआमाले सोध्दा बालकले शिक्षकले कुटेको बताउनु भएको थियो । त्यसपछि अभिभावकले विद्यालय प्रशासनसँग शिक्षकले गरेको कुटपिटको जानकारी गराउदै कारबाहीको लागि माग गर्नु भएको थियो ।
विद्यालय प्रशासनले विद्यार्थीलाई कुट्ने शिक्षक सुदीप अधिकारीलाई बर्खास्त गरेको जनाएको छ । अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही दिन ठाडो उजुरी दिनुभएको थियो । ठाडो उजुरीमा प्रहरीले दुवै पक्षलाई बोलाएर सल्लाह गरेको इलाका कार्यालय शिशुवाका डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो । त्यसदिन विद्यालय प्रशासनले बालकलाई उपचार खर्च बेहोर्ने जनाएको थियो । त्यसपछि जाहेरी लिएर प्रहरी कार्यालय कोही नआएको प्रहरीले जनाएको छ ।
बालकको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको थियो ।