INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्लाहीको बलरामा बम विष्फोट, बालिका घाइते

सर्लाहीको बलरामा असोज १ गते बिहान सुतली बम विष्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका-२ हथियौल जमुनिया टोलमा भएको बम विष्फोटमा स्थानीय जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता सहनी घाइते भएकी हुन् ।

बमको छर्राले लागेर सामान्य घाइते भएकी बालिकाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा भइरहेको छ । आफ्नै किराना पसल अगाडि जयप्रकाशकी छोरी रस्मिता र छोरा रितेश खेलिरहेको अवस्था असोज १ गते बिहान ११ बजेतिर सुतली बम विष्फोट भएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ ।

बालबालिका खेल्ने क्रममा पसल अगाडि फेला परेको बेवारिसे झोला उठाएर घर लैजान खोज्दा बम विष्फोट भएको थियो ।

झोला भित्र रहेका चार ओटा बममध्ये एउटा बालबालिका खेलाउँदा पडकिएको र बाँकी तीन ओटा बम नेपाली सेनाले निष्क्रृय पारेको गडहियाका इन्स्पेक्टर रामराजा केशरीले जानकारी दिए । बम राख्ने व्यक्ति/समूहको खोजी तीव्र पारि घटना स्थल वरपर सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

भारतसँग सीमा जोडिएको बलरा क्षेत्र सुरक्षाको दृष्टिले सर्लाहीको अति नै सम्वेदनशील ठाउँ मानिन्छ । चुनावका लागि त्यसक्षेत्रमा डिएसपी रूगम कुँवरको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

अन्य

भिडियो