नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक समूहले भदौ ३० गते जिल्ला मालपोत कार्यलय नवलपरासी, कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई कार्यकक्षमै मोसो दलेको पीडित पक्षले आरोप लगाएको छ ।
तीनजनाको समूहमा मालपोत कार्यालय पुगेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेपछि पर्चा छोडेर फरार भएको प्रहरीले जनाएको छ ।
पर्चामा घिमिरेले सुकुमबासी आयोगको रकम दुरुपयोग गरेको, सडक विस्तारका लागि निकासा गरिएको रकम सम्बन्धित कार्यमा गरिने लगानीको अपचलन गरेको उल्लेख छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भदौ ३० गते नै नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको जनाएको छ ।
गिरफ्तार गरिएका व्यक्तिको नाम सार्वजनिक गर्न नमिल्ने भन्दै इलाका प्रहरी कार्यालय कावासोतीका सई प्रकाश सिङ्खडाले घटनाको अनुसन्धान गरिरहेको बताए ।