INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ वैशाख १७ गते सन् २०२४ को पहिलो तीन महिना (जनवरी देखि मार्चसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।

लुम्बिनी प्रदेशको अभिलेख अनुसार सन् २०२४ को पहिलो तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ३ सय २७ जना महिला र एक जना बालक सहित ६२ जना बालिका पीडित भए ।

अन्यपक्षबाट पुरुष, महिला र बालिका गरी ४ सय ५२ जना पीडित भए । अभिलेखित घटना अनुसार सात जना महिलासहित १७ जनाको हत्या भयो । यसैगरी कुटपिटबाट १२ जना, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट दुई जना, अमानवीय व्यवहारबाट ६ जना महिला सहित २३ जना, घाइतेबाट दुई जना, जातीय विभेदबाट पाँच जना, धम्किबाट एक जना र यातनाबाट एक जना पीडित भए । यो अवधिमा बाल अधिकार उल्लङ्घनका घटनामा ६२ जना बालबालिका पीडित भए । जसमध्ये ४३ जना बालिका बलात्कार, पाँच जना बालिका बेचबिखन, तीन जना बालिका बालविवाहबाट पीडित र ११ जना बालिका यौन दुर्व्यवहारबाट पीडित भए ।

यसैगरी सबैभन्दा बढी महिला अधिकार उल्लङ्घनका घटनामा ३ सय २७ जना महिला पीडित भए । जसमध्ये २८ जना बलात्कार, सात जना बलात्कार पयास, तीन जना यौन दुर्व्यवहार र २ सय ७१ जना महिला घरेलु हिंसा, १२ जना महिला बहुविवाह र ६ जना महिला मानव बेचबिखन तथा ओसारपसारका घटनामा पीडित भए ।

यसअघि विभिन्न प्रकारका मानव अधिकार तथा ज्यादतीका घटनामा सलग्न आरोपितहरूमाथि पनि कानुनी कारबाही हुन नसक्नु लगायतका कारणले ज्यादतीका घटना कम हुन सकेको छैन । महिला र बालबालिका माथि हुने हिंसाका घटना न्यूनीकरणका लागि स्थानीय सरकारले पनि स्पष्ट नीति ल्याउन नसक्नु तथा रोजगारीको अवसर नहुनु तथा बेरोजगार जनशक्ति बढ्नुले पनि महिला र बालबालिका माथि हुने हिंसा बढेर गएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा संलग्न पीडितहरूको व्यक्तिगत अभिलेखबाट देखिन्छ । न्यायिक तथा सुरक्षा निकायलाई सबल तथा सक्षम बनाउने, आमनागरिकलाई उनीहरूका कर्तव्य बोध गराउनेलगायतका काममा स्थानीय तहको क्षमता विकास गराउनु आजको आवश्यकता देखिन्छ । साथै स्थानीय सरकारलाई मानव अधिकार रक्षाका लागि जिम्मेवार बनाउन सके मात्रै आम नागरिकको अधिकार सुनिश्चित हुन सक्ने कुरामा दुई मत छैन ।

स्थानीय प्रहरी प्रशासनका गलत गतिविधिहरूका बारेमा पत्रपत्रिकामा प्रकाशित समाचारलाई लिएर स्थानीय प्रहरी, प्रशासनबाट समेत पत्रकारहरू पीडित हुनुपरेको घटनाले मानव अधिकारकर्मीहरूलाई समेत दुःखी बनायो । वर्षौँदेखि आफ्नो न्यायका लागि छट्पटिरहेका सशस्त्र द्वन्द्वपीडितहरू अझैपनि झिनो न्यायका आशाका साथ सरकारसामू याचना गरिरहेको पाइयो । समग्रमा लुम्बिनी प्रदेशको मानव अधिकार विगतको तुलनामा खासै प्रगति भएको पाइएन ।

अन्य

भिडियो