महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा निःशुल्क रुपमा पाइने रेविज खोपको अभाव भएपछि त्यस क्षेत्रका बिरामी तथा रेविज सङ्क्रमितहरु समस्यामा परेका छन् ।
महाकाली प्रादेशिक अस्पतालमा रेविज खोपको अभाव भएपछि आफूहरुले सास्ती खेप्नु परेको रेविज रोग प्रभावितहरुले गुनासो गर्नु भएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क पाइने रेविज खोपको अभाव हुँदा आफू लगायत रेविज रोगबाट प्रभावित भएका व्यक्तिहरुले नीजि अस्पताल वा स्वास्थ्य किल्निकबाट महंगोमा औषधी किन्न बाध्य हुनुपरेको रेविज संक्रमणबाट पीडित हुनुभएको भिमदत्त नगरपालिका–१८ जानकी टोलकी ३९ वर्षीया हेमन्ती रानाले गुनासो गर्नु भयो ।
ज्यालामजदुरी गरेर जिविका चलाई रहेको अवस्थामा छोरालाई रेविज सङ्क्रमण देखिएपछि निःशुल्क पाइने खोप नीजि अस्पतालबाट महंगोमा किन्नु पर्ने बाध्यता रहेको बेदकोट नगरपालिका–९ की गीता विष्टले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘ज्यालामजदुरी गरेर दैनिकी चलाउँछु । अस्पतालमा निःशुल्क पाइने खोप बजारमा ६ सय ३६ रुपियाँ पर्ने गर्दछ । हामी जस्ता आर्थिक अवस्था कमजोर भएका परिवारलाई खोप किन्ननै समस्या भएको छ । खोप नलगाउँदा छोराकोे ज्यान जोखिममा छ । खोप किन्न समस्या भएको छ ।’
बजारबाट किनेर ल्याएको रेविजको खोप दुई पटक वा दुई जनालाई लगाउन मिल्ने भए पनि फ्रिजमा राख्न समस्या भएकोले आर्थिक अवस्था कमजोर भएका पीडित परिवारलाई थप समस्या उत्पन्न भएको अधिकारकर्मी भगवती थापाले बताउनु भयो ।
सरकारले निःशुल्क उपलब्ध गराउनु पर्ने खोप प्रादेशिक अस्पतालमा नपाउनु दुःखद भएको उहाँले बताउनु भयो ।
महाकाली प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक ओमप्रकाश जोशीले ०८० चैत २२ गते नै खोप सकिएको बताउनु भयो । उहाँका अनुसार माथि टेन्डर प्रक्रिया पुरा हुने वितिकै खोप आउँछ ।’अस्पतालको तथ्याङ्क अनुसार हालसम्म मासिक रुपमा २ सय ५० जनाले निःशुल्क रेविज विरुद्धको भ्याक्सिन लगाएका छन् । छाडा कुकुरको बिगबिगी र रेबिजले अकालमा ज्यान जाने चेतना बढेपछि अस्पतालमा भ्याक्सिन लगाउने सेवाग्राहीको सङ्ख्या बढेको हो ।
कुकुर, बाँदर लगायत बिभिन्न पशुपन्छीले टोकेर रेविजको खोप लगाउन भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा नगरपालिका लगायतका क्षेत्रबाट भ्याक्सिन लगाउने दैनिक २० देखि २५ जनासम्म सेवाग्राही आउने गरेका र प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीले नीजि अस्पतालबाट महंगोमा किनरे ल्याएको खोप लगाई दिनेगरेको जनस्वास्थ्य निरीक्षक जोशीको भनाइ छ ।
खोप सकिएको सम्बन्धमा केन्द्रमा जानकारी गराइएको र केही दिनभित्रै महाकाली प्रादेशिक अस्पतालमा खोपको अभाव नहुँने समेत उहाँले बताउनु भयो ।
‘रेबिज लागेपछि भ्याक्सिन लगाउने बाहेक अन्य कुनै बच्ने उपाय छैन’। गत वर्ष जिल्लामा रेविज रोग लागेर दुई जनाको ज्यान गएको थियो । गत वर्ष असारदेखि दुई महिना भ्याक्सिन लगाउन बन्द भएको थियो । अस्पतालमा भ्याक्सिन सकिने समस्यालाई गम्भीर रुपमा लिनु पर्ने भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले बताउनु भयो ।
‘यो स्वास्थ्यसँग संवेदनशील विषय हो, अस्पतालमा भ्याक्सिन नहुनु निकै दुःखद कुरा हो’ उहाँले भन्नु भयो, सरकारले छिटो भन्दा छिटो भ्याक्सिन उपलब्ध गराउनु पर्छ ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले रेविज विरुद्धको भ्याक्सिन प्रदेश सरकारको आपुर्ति महाशाखाबाट आएपछि मात्रै उपलब्ध गराउन सकिने बताउनु भयो । ‘यो प्रदेश आपुर्ति महाशाखाबाट उपलब्ध हुने हो । सेवा रोकिँदा सेवाग्राहीहरु मारमा परेका छन्, हामीलाई राम्रो लागेको छैन’ हामीले पनि भ्याक्सिनका लागि हारगुहार गर्ने निकाय नै आपुर्ति महाशाखा हो । त्यहाँ पनि छैन भन्ने जानकारी आएको छ । त्यही भएर आपुर्ति महाशाखाले नदिएसम्म सेवा सञ्चालन गर्ने अवस्था नरहेको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरका अध्यक्ष भट्टको भनाइ छ ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले प्रदेश आपुर्ति महाशाखाबाट नआएपछि भ्याक्सिन सकिएको बताउनु भयो ।
उहाँले भन्नु भयोे– ‘अस्पतालमा प्रदेश आपुर्ति महाशाखाबाट मागका आधारमा भ्याक्सिन आउने गरेको थियो, अहिले त्यहाँबाट नआएपछि भ्याक्सिन आएको छैन् । माथिबाट नआएपछि अहिले निःशुल्क भ्याक्सिन लगाउने कार्य गर्न सकिएको छैन । मेडिकल सुपरिटेन्डेन्ट भट्टका अनुसार आपूर्ति महाशाखाबाट अस्पताललाई १५ दिनका लागि २ सय भाइल भ्याक्सिन उपलब्ध हुँदै आएकोमा अहिले रोकिएको छ ।’
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गरिएको भएता पनि स्थानीयहरुले आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको छ ।