अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेख अनुसार नवलपुरमा बालिका बलात्कारका घटना बढ्दो रुपमा रहेको छ, नौ महिनामा ११ जना बालिका बलात्कृत भएको इन्सेकले अभिलेख गरेको छ ।
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा २०८० मङ्सिर २१ गते प्रहरीले बुबालाई कावासोतीबाट गिरफ्तार गर्यो । पीडितकी आमाले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिनुभयो । । पीडित बालिका माथि विभिन्न समयमा आफ्नै बुबाबाट पटक पटक बलात्कार भएको अनुसन्धानबाट समेत खुल्यो ।
देवचुलीमा ५ वर्षकी बालिकालाई फागुन ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले १३ र १४ वर्षका बालकलाई गिरफ्तार गर्यो । बलात्कारको अभियोग लागेका बालकहरु कक्षा ६ र ७ मा पढ्दै थिए ।
यसैगरी १२ वर्षीया अपाङ्गता भएकी बालिकालाई २०८० मङ्सिर ८ गते बलात्कार गरेको भन्दै देवचुली – १४ प्रगतिनगर निवासी ५८ वर्षीय रुक्मागत न्यौपाने विरुद्ध पीडित पक्षद्वारा जिल्ला प्रहरी कार्यालयमा २०८० माघ २१ गते उजुरी पर्यो ।
यी तीन घटना त प्रतिनिधि घटना मात्रै हुन । नवलपरासी पूर्व नवलपुरमा चालु आर्थिक वर्षको अहिलेसम्म बालिका बलात्कारका मात्रै ११ ओटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । जसमध्ये १० ओटा जिल्ला प्रहरी कार्यालय र एउटा घटना इलाका प्रहरी कार्यालयमा दर्ता भएको हो । दर्ता भएका घटनाहरूमा पाँच वर्षीया बालिकादेखि १७ वर्षीय उमेर समूहका बालिका छन् । दुई ओटा बाल यौन दुर्व्यवहारको घटना समेत इलाका प्रहरी कार्यालयमा दर्ता भएको छ ।
यस अवधिमा प्रहरी कार्यालयमा दर्ता भएको १७ ओटा बलात्कारका घटनामध्ये ११ ओटा घटना बालिका बलात्कारका घटना छन् । ६ ओटा महिला बलात्कारको घटना दर्ता भएको छ ।
गत आर्थिक वर्ष २०७९ ÷ ०८० मा प्रहरीमा १४ ओटा बलात्कारका घटना दर्ता भएका थिए । जसमध्ये ७ ओटा बालिका र ७ ओटा महिला बलात्कारका घटना दर्ता भएका थिए । एउटा बलात्कार प्रयास र दुई ओटा बाल यौन दुर्व्यवहारको घटना दर्ता भएको छ ।
चालु आर्थिक वर्षको नौ महिनाकै अवधीमा १७ ओटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । गत वर्षभन्दा तीन ओटा घटना बढी रहेको छ ।
एकातिर बलात्कारका घटना बढ्दै जानु र त्यसमाथि पनि बालिकाहरूमाथि बलात्कार हुनेक्रम बढ्दो देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक नरहरि रेग्मीका अनुसार जिल्लामा महिला बालबालिकामाथि हुने यौन हिंसाको अवस्था निकै डरलाग्दो देखिएको छ । जिल्लामा अन्य ठूलाखालका कुनै अप्रिय घटना नभएपनि महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको उहाँ बताउनुहुन्छ । ‘बलात्कारका घटनामा १२÷१३ वर्षका बालकहरू सामेल भएको पाइनु निकै चिन्ताजनक अवस्था हो । बढ्दो इन्टरनेटको प्रयोग, मोबाइलमा सहज पहुँच भएका कारण पनि बालकहरू यस किसिमको आपराधिक कृयाकलापमा संलग्न हुने गरेका छन्’ रेग्मीले बताउनुभयो ।