१३ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उदयपुर जिल्ला उदयपुरगढी गाँउपालिका-६ स्थायी घर भई काठमाडौँ महानगरपालिका-१६, बालजु बस्ने २३ वर्षीय नविनकुमार मगरलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन महिनादेखि काठमाडौँ महानगरपालिका-१६, बालजुमा रहेको लाफा खाजाघरमा आर्थिक प्रलोभनमा पारी डर त्रासमा राखेर जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा चैत १८ गते उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा आरोपितलाई चैत १८ गते गिरफ्तार गरिएको ब्युरोका प्रवक्ता एसपी ज्ञानेन्द्रप्रसाद फुयालले इन्सेकलाई जानकारी दिनुभयो । त्यसैगरी ब्युरोको टोलीले बालिकालाई उद्धार गरेको छ । एसपी फुयालका अनुसार बालिकालाई सुरक्षित आवास गृहमा राखिएको छ ।
पीडितको स्वास्थ्य परीक्षण चैत १८ गते थापाथलीस्थित प्रसूति गृहमा गरियो । आरोपितलाई चैत १९ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी फुयालले जानकारी दिनुभयो ।