सियारी गाउँपालिका-७, रामजानकी टोलस्थित ७० वर्षीया उजेली लोधलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २९ वर्षीय प्रभुनाथ थारुलाई प्रहरीले ०८० चैत १४ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टका अनुसार विगत दुई वर्षदेखि छोरी ज्वाईसँगै बस्दै आउनुभएकी लोधलाई आरोपितले सुतिरहेको कोठामा प्रवेश गरी फलामे हथ्यौडाले हानेर कुटपिट गरी घाइते बनाएका थिए । उक्त कुटपिटबाट पीडित गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते लोधको भिम अस्पताल, भैरहवामा उपचारको क्रममा चैत १४ गते मृत्यु भएको थियो ।
इन्सेकलाई जानकारी दिँदै डिएसपी भट्टले आरोपित बाटोमा आउँदा जाँदा मृतक लोधले होलीको दिन गाली गरेको र त्यही कारण विवाद भइरहेको हुँदा चैत १३ गते राति मादक पदार्थ सेवन गरी फलामे हथ्यौडाले हानेर हत्या गर्न खोजेको बताउनु भयो ।
शवको पोष्टमार्टम चैत १४ गते भिम अस्पताल, भैरहवामा गरी मृतकको छोरी ज्वाईले सदगतको लागि शव बुझेको छ ।