INSEC Online

📅 २०८३ जेष्ठ २१

घरबाट आउजाउ गर्न रोक लगाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी

राप्ती गाउँपालिका-६ का ४२ वर्षीय बासुदेव चौधरीले आफ्ना ६ जना परिवारको जीवन सुरक्षाको माग गर्दै ०८० चैत १३ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ ।

सडक निर्माणका लागि जग्गा नदिएको भन्दै चैत ७ गतेदेखि गाउँका अगुवा मानबहादुर चौधरीको नेतृत्वमा घर घेराउ गर्ने, हिँड्डुल गर्न नदिने, गाली गलौज गर्ने, ज्यानै मार्ने धम्की दिने, गाई, भैँसीलाई घाँस काट्न समेत जान नदिने गरेको भन्दै बासुदेव चौधरीले जिल्ला प्रशासन कार्यालयमा जीवन रक्षाको माग गर्दै निवेदन दिनुभएको हो । एक हप्तादेखि २५ जनाको टोली बनाएर रात, दिन आफ्नो घर घेराउ गरेको, रातको समयका घरमा ढुङ्गामुढा गरेकोले जीवन जोगाइदिन उहाँले सबैसँग अपिल गर्नुभएको छ । बासुदेव चौधरीले चैत १३ गते इन्सेक जिल्ला प्रतिनिधिसँग आफूहरूको सुरक्षाका लागि पहल गरिदिन समेत आग्रह गर्नुभयो ।

गाउँका तीन/चार घरलाई सजिलो हुने भन्दै बासुदेवको धेरैजसो जग्गा समेटेर सडक खोल्न थालेपछि जोतेर खाने जमिन दिन नसकिने चौधरीले बताउनु भयो । निकास हुँदाहुँदै पनि पूर्वाग्रह राखेर जमिन काटिदिन थालेको चौधरीले उल्लेख गर्नुभयो । गाउँका अगुवा मानबहादुर चौधरीले बाटो निकाल्न जग्गा नदिएपछि गाउँलेहरूले निर्णय गरेर व्यक्तिगत जग्गाबाट निकालेको बाटोमा मात्रै हिँड्डुल गर्न नदिएको बताउनु भयो । गाउँ सञ्चालक समितिका कोषाध्यक्ष अमरदिप चौधरीले निकास नहुँदा एम्बुलेन्स, दमकल, ट्याक्टर लैजान पनि समस्या भएपछि हिँड्डुलमा रोक लगाएको बताउनु भयो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले निवेदन आएकोले त्यस विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको बताउनु भयो । पीडित वासुदेव चौधरीले घरमा ६९ वर्षीय बुबा सुनाराम चौधरी, ६८ वर्षीया आमा छनकादेवी चौधरी, ३७ वर्षीया पत्नी देवकुमारी चौधरी, २४ वर्षीया बहिनी पवित्रा चौधरी, १५ वर्षीया छोरी रुपकला चौधरी र १४ वर्षीया छोरा विशाल चौधरीलाई नाकाबन्दी गर्दा घरमै नजरबन्द भएर बस्नुपरेको उल्लेख गर्नुभयो । रोजगारीका लागि घोराहीमा रहनुभएका बासुदेव चौधरी त्रासकै कारण घरमा जान नसकेको बताउनु भयो ।

अन्य

भिडियो