INSEC Online

📅 २०८३ जेष्ठ २१

तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले असोज २ गते प्रदेश नं २ का स्थानीय तहमा हुने निर्वाचनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता सुर्यप्रसाद शर्माले प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने तेस्रो चरणको निर्वाचनका लागि २ हजार १ सय ६६ मतदान स्थलसमेत निर्धारण भएको बताए ।

आयोगका अनुसार प्रदेश २ अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने सप्तरी, धनुषा, पर्सा, रौतहटमा १८-१८ स्थानीय तह रहेका छन् । यसैगरी सिरहामा १७, बारा १६, र महोत्तरी १५ ओटा स्थानीय तहको सङ्ख्या कायम रहेको जनाइएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदातालाई मतदान गर्ने अधिकार रहेको आयोगले जनाएको छ । निर्वाचनका लागि स्वयम्सेवकसहित ३१ हजारभन्दा बढी कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवम् अध्यक्ष १ सय ३६, उपप्रमुख एवम्  उपाध्यक्ष १ सय ३६, वडाध्यक्ष १ हजार २ सय ७१ तथा ५ हजार ८४ जना वडा सदस्यसहित कूल ६ हजार ९ सय २७ जनप्रतिनिधिको चयन हुनेछ ।

अन्य

भिडियो