१९ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएका आरोपित बोदे बर्साइन नगरपालिका–५ जाँजर टोलका २२ वर्षीय जाबेद अख्तर विरुद्धको मुद्दा ०८० माघ २४ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश उदवीर नेपालीको इजलासबाट फरार आरोपित विरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको हो ।
घरपरिवारका सदस्यहरू आफैले बजारमा सञ्चालन गरेको पसल गएको र घरमा पीडित मात्र रहेको बेला ०७८ मङ्सिर २२ गते आरोपितले विवाहको प्रलोभन दिई बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७९ भदौ १० गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । पीडित गर्भवती भएपछि सोधपुछ गर्दा मात्र घटनाको बारेमा थाहा पाएको पीडितका अभिभावकले बताए ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ भदौ १५ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भयो । अस्पतालले परीक्षण गर्दा उनी ९ महिनाकी गर्भवती थिइन् । इलाका प्रहरी कार्यालय कडरबोनाले ०७९ असोज ७ गते उजुरी दर्ता गरेको थियो ।
आरोपित फेला नपरेको भन्दै प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले ०७९ मङ्सिर २१ गते अभियोग पत्र दायर गरेको थियो । अभियोग दर्ता भएको १४ महिनासम्म आरोपित फेला नपरेपछि तेस्रो पेशीमा अदालतले मुद्दा मुल्तबीमा राख्ने अन्तिम निर्णय गरेको हो ।