१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा काठमाडौँको कीर्तिपुर नगरपालिका-१०, मानाटोल बस्ने ३७ वर्षीय राजकुमार महर्जनलाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडितको फेसवुक लगायत सामाजिक सञ्जालमा फोटो र नाम राखि अश्लिल म्यासेजहरू आफन्तलाई पठाई दुरुपयोग गरेर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई माघ १८ गते काठमाडौँ महानगरपालिका-१७, भोटाहिटीबाट गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी नरेन्द्र चन्दले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट माघ १८ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी चन्दले इन्सेकलाई जानकारी दिनुभयो ।