INSEC Online

📅 २०८३ जेष्ठ २१

उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको सदस्यमा इन्सेकका झा

20240131 Saptari 1

उच्च अदालत जनकपुर राजविराज इजलासले उच्च अदालत न्याय क्षेत्र समन्वय समितिकोे सदस्यमा इन्सेक सदस्य बैद्यनाथ झालाई ०८० माघ १५ गते मनोनयन गरेको छ ।

उच्च अदालत नियमावली २०७३ को नियम १६६ (१) बमोजिम गठित उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको सदस्यमा झालाई नागरिक समाजको तर्फबाट सदस्य तोकिएको अदालतका निमित्त रजिष्ट्रार फणीन्द्रराज भट्टराईले जानकारी दिनु भयो ।

मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने वरिष्ठतम न्यायाधीश अध्यक्ष रहने उच्च अदालत न्याय क्षेत्र समन्वय समितिमा क्षेत्रीय प्रशासक नरहेको ठाउँमा प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय प्रहरी कार्यालय प्रमुख वा प्रहरी कार्यालयको माथिल्लो निकायको प्रमुख, सम्बन्धित सरकारी वकिल, सम्बन्धित बारको अध्यक्ष र मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीशले तोकेको नागरिक समाजको सदस्य रहने कानुनी प्रावधान रहेको छ । समितिको सदस्य सचिवमा रजिष्ट्रार रहने व्यवस्था छ ।

सोही प्रावधान अनुसार, न्याय र मानव अधिकारको क्षेत्रमा बिगत लामो समयदेखि कार्यरत अधिकारकर्मी झालाई उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको सदस्य तोकिएको निमित्त रजिष्ट्रार भट्टराईले बताउनु भयो । सदस्यको पदावधि दुई बर्षको हुनेछ । सदस्यमा तोकिएको बारे प्रतिक्रिया दिनु हुँदै झाले वरिष्ठतम न्यायाधीश बामदेव ज्ञवाली प्रति आभार व्यक्त गर्दै इमान्दारिपूर्वक पदीय जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

अदालत, मातहत अदालत, न्यायिक निकायहरुको काम कारवाही, सुव्यवस्थित तरिकाले सञ्चालन गराउन, जिल्ला न्याय क्षेत्र समन्वय समितिको काम कारवाही, न्यायपालिकाको रणनीतिक योजना, फैसला र आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन र अदालतको सुरक्षा व्यवस्थालाई समेत समन्वय गर्नको लागि उच्च अदालत नियमावली २०७३ को नियम १६६ बमोजिम उच्च अदालत न्याय क्षेत्र समन्वय समिति रहने कानुनी व्यवस्था रहेको छ ।

उच्च अदालत न्याय क्षेत्र समन्वय समितिले आफ्नो काम कारवाहीको त्रैमासिक प्रतिवेदन केन्द्रीय न्याय क्षेत्र समन्वय समिति समक्ष पेश गर्ने व्यवस्था रहेको सूचना अधिकारी इन्द्रकुमार योङहाङ्गले बताउनु भयो ।

अन्य

भिडियो