INSEC Online

📅 २०८३ जेष्ठ २१

एमालेको कार्यक्रममा अवरोध, खोटाङमा तीन जना गिरफ्तार

‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा अवरोध गरेको आरोपमा प्रहरीले प्रदेश नं.१ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिका तीन जना कार्यकर्तालाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

पहिचान पक्षधरले नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा” अवरोधका लागि ०८० मङ्सिर २६ गते जिल्ला बन्दको आह्वान गरेको छ ।

बन्दका कारण जिल्लामा जनजीवन प्रभावित भएको छ । प्रहरीले यातायात बन्दलाई सफल बनाउँदै हिडेका राजेश राई, गन्धमान राई र विजय राईलाई हलेसीबाट गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा परेका पहिचान पक्षधरहरूलाई तत्काल रिहा गर्न पहिचानवादी युवा परिचालन समिति संयोजक निर्मल राईले माग गर्नु भएको छ ।

पहिचानवादीलाई तुरुन्त रिहाई गर्न देशभक्त समाजवादी मोर्चाका संयोजक तथा संयुक्त संघर्ष समिति केन्द्रीय घटक समूहको नेतृत्वकर्ता गोपाल किरातीले माग गर्नु भएको छ ।

प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मङ्सिर २६ गते उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालीन यातायात बन्द घोषणा गरेको छ ।

बन्दकर्ताहरूले ठाउँ-ठाउँमा टायर बालेको प्रहरीले जनाएको छ । जिल्लाका नुनथला, नाँगी, कदुवा र छापडाँडामा रुख ढालेर सडक अवरोध गरिएको प्रहरीले जनाएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाको लामाखुमा मङ्सिर २६ गते बिहान शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

शङ्कास्पद वस्तुलाई नेपाली सेनाबाट डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बेनु कार्कीले बताउनु भयो ।

‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मङ्सिर २६ गते ओखलढुङ्गाको हर्कपुर आउने भएपछि पहिचानवादीहरूले विरोध गर्ने जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानको आन्दोलनविरूद्ध अभिव्यक्ति दिएकाले हर्कपुर आउनमा अवरोध गर्ने र खोटाङ छिर्न नदिने ०८० मङ्सिर २१ गते दिक्तेलमा पत्रकार सम्मलेन गरेर पहिचान पक्षधरले जानकारी दिइसकेको छ ।

०८० मङ्सिर २१ गते एमालेको कार्यक्रम कोशी प्रदेशमा अवराेध गर्ने विषयमा पहिचानपक्षधरले आयोजना गरेको पत्रकार सम्मेलन ।
०८० मङ्सिर २१ गते एमालेको कार्यक्रम कोशी प्रदेशमा अवराेध गर्ने विषयमा पहिचानपक्षधरले आयोजना गरेको पत्रकार सम्मेलन ।

अन्य

भिडियो