राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा युवा तथा खेककुद मन्त्रालय र मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्द्वारा संयुक्तरुपमा साउन २८ गते काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा सशक्तीकरणमा सरकार र निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले ‘युवामा गरिने लगानीले नै देशमा आर्थिक समृद्धि हुन्छ, दिगो विकास तथा शान्ति कायम हुन्छ ।‘ भन्दै युवा नीति, रणनीति तथा दूरदृष्टि (युथ भिजन)लाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरिन् ।
युवावर्गलाई स्वदेशभित्र नै स्वरोजगारी, रोजगारी तथा उद्यमशील बनाउन उनीहरूको क्षमताअनुसारका सीप, प्रविधि र आर्थिक सहयोग प्रदान गर्न जरुरी रहेको चर्चा गर्दै उनले भनिन्-‘सरकारका नीति तथा कार्यक्रम पनि युवामैत्री हुनुपर्छ ।‘
कार्यक्रममा राष्ट्रपति भण्डारीबाट गुणस्तरीय उच्च शिक्षा, प्राविधिक सीपले युवालाई व्यावसायिकता एवम् उद्यमशीलता बनाउने हुँदा स्वदेशमै यी कुरा पूरा गर्न सकिएमा कामको खोजीमा युवा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिएको राससले जनाएको छ ।
युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको छ । पछिल्लो जनसंख्याअनुसार कूल जनसंख्यको ४० प्रतिशत अर्थात् १ करोड ७ लाख युवा रहेका छन् ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले युवा नीति, रणनीति तथा दूरदृष्टिलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई स्वदेशभित्र नै उद्यमशीलता बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले युवा वर्गले कुण्ठा र निराशाले होइन, उत्साह र जाँगरले स्वदेशभित्र नै आफ्नो ज्ञान, सीप उपयोग गर्नुपर्नेमा जोड दिँदै भने-‘यसका लागि के गर्नुपर्यो ? सरकार त्यो गर्न तयार छ ।‘
राष्ट्रिय युवा परिषद्का कार्यकारी निर्देशक माधव ढुङ्गेलले आर्थिक समृद्धिका आधार युवा वर्ग भएकाले यसमा लगानी बढाउन सरकारले ध्यान दिनुपर्ने बताए ।