त्रिपुरासुन्दरी गाउँपालिका-६, आगिनचोककी ६२ वर्षीया मनकुमारी सार्कीको घाँटी थिचेर हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीय च्यामे भन्ने शिव बसेल, ४० वर्षीय सुनिल नेपाली र ५४ वर्षीय टाेपबहादुर नेपाली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० मङ्सिर १८ गते उजुरी दर्ता भएको छ ।
पीडित महिला नातिको ब्रतबन्धको तयारी सकेर राति सुतेको अवस्थामा आरोपितहरूले मङ्सिर १४ गते मदिरा सेवन गरी घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको अनुहारमा कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरू छरपष्ट भएको अवस्थमा आफ्नै घरमा उहाँको शव भेटिएको थियो ।
शवको पोष्टमार्टम मङ्सिर १७ गते धादिङ अस्पतालमा भयो । घटनाका आरोपितहरू मङ्सिर १५ गते गिरफ्तार भएका थिए । आराेपित मध्ये शिव बसेल बलात्कार र चाेरी घटनामा सजाय पाएका व्यक्ति रहेकाे प्रहरीले जनाएको छ । आरोपितहरूलाई मङ्सिर १७ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको एसपी मिश्रले इन्सेकलाई जानकारी दिनुभयो ।