INSEC Online

📅 २०८३ जेष्ठ २१

दुबाचौडबस्तीमा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

मालिकार्जुन गाउँपालिका–४ हुनैनाथको दुवाचौडबस्तीमा खानेपानीको अभाव भएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ ।  रैथाने पानीका मूलहरु सुक्दै जाँदा दुबाचौडबासीले खानेपानीको समस्या भोग्नुपरेको हो ।

दशकाँैदेखि खानेपानीको समस्या रहेको दुबाचौडबस्तीमा २०७२ सालको भूकम्पपछि रैथाने पानीका मूलहरु सुक्दै गएपछि खानेपानीको अभाव भएको स्थानीय गौमती धामीले गुनासो गर्नु भयो । ‘मुहानमा वर्षेनी पानी कम हुँदै गयो । एक गाग्री पानीको लागि दिनभर कुर्न पर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नु भयो ।

बस्तीमूनि रहेको पानीको मुहान सुक्दै गएपछि दिनभरी लाईनमा बस्दा पनि पानी पाउनै मुस्किल भएको छ  । २० घरधुरी रहेको यो बस्तीमा वर्षातको समयमा फुट्ने मुहानको पानीले केही राहत दिए पनि हिउँदेयाम सुरु भएपछि पानीको हाहाकार हुने गरेको धामीको भनाइ छ ।

यो क्षेत्रमा खानेपानी सञ्चालनको लागि कहिल्यै नयाँ योजना समेत आएन्, स्थानीय कृष्णसिह धामीले भन्नु भयो, वडा नम्बर ४ क्षेत्रमा सबै भन्दा बढी समस्या भोग्नु परेको छ । यो क्षेत्रका नागरिकहरुको राजनीतिक पहुँच नहुँदा पनि आधारभूत समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ ।

‘गाईभैसीलाई पानी खुवाउनै पर्‍यो । मान्छेको लागि पानी चाहियो । शौचालयमा पनि पानी चाहिन्छ तर कुवाँको पानीले धान्न सक्ने अवस्था छैन्,’ स्थानीय रुद्रसिह धामीले भन्नु भयो, ‘घरका एक÷दुई जनाको काम नै खानेपानी बोक्नमै जान्छ अन्य आयआर्जनका कार्य कसरी गर्नु ?’ अहिलेसम्म खानेपानीको लागि यो गाउँले कुनै पनि निकायबाट खानेपानीका पाइप समेत पाएको छैन् ।

चुनावको बेला विभिन्न राजनीतिक दलहरुले खानेपानीको व्यवस्थापन गरिदिने आश्वासन दिए पनि चुनावपछि फर्किदैनन् । खानेपानी योजनाको माग पटक–पटक गर्दा पनि कुनै निकायबाट सम्बोधन नभएको र गाउँपालिकासँग अनुरोध गर्दा वृहत खानेपानीबाट सम्बोधन हुन्छ भन्दै टार्ने गरेको स्थानीयहरुको आरोप छ ।

वृहत खानेपानी आयोजनाबाट मालिकार्जुन गाउँपालिकाभरीको खानेपानी समस्या सामाधान गर्न सकिने गाउँपालिकाका अध्यक्ष हिरासिह धामीले बताउनु भयो । वर्षौदेखि विभिन्न गाउँ बस्तीमा खानेपानी समस्या छ, उहाँले भन्नु भयो, एक वर्षदेखि खानेपानी गुरुयोजना बनाएर खानेपानी समस्या समाधानको प्रयत्न भइरहको र प्राथमिकताका आधारमा हरेक बस्तीका खानेपानीका समस्या समाधान हुने गाउँपालिकाका अध्यक्ष धामीको भनाइ छ ।

अन्य

भिडियो