
लैङ्गिक हिंसा नियन्त्रणका लागि ०८० मङ्सिर ६ गते जिल्लामा गठन गरिएको सञ्जालमा इन्सेकलाई सदस्यमा चयन गरिएको छ ।
जिल्लामा गठन गरिएको सञ्जालमा मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेललाई सदस्यका रूपमा चयन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा भएको सञ्जाल गठन कार्यक्रममा इन्सेक प्रतिनिधिसहित १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति गठन गरिएको सई शिव शर्माले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् एसपी गजु सिद्धि बज्राचार्यको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत भिमराज बस्नेत, जिल्ला बार एकाईबाट अध्यक्ष रामप्रसाद चौधरी, उद्योग बाणिज्य संघबाट अध्यक्ष लालु अग्रवाल, नागरिक समाजबाट अध्यक्ष थानसिंह भन्साली, गैसस महासंघ सप्तरीका अध्यक्ष दिपक झा, प्याब्सनका अध्यक्ष अरुणकुमार देव, स्थानीय विद्यालयबाट पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजका प्रधानाध्यापक मोहन मिश्र चयन हुनु भएको छ ।
यसैगरी सुरक्षित आवास गृह सञ्चालन गरिरहेको गैससबाट सबिता न्यौपाने, लैङ्गिक हिंसा क्षेत्रमा कार्यरत गैससबाट सबल नेपालका परमेश्वर झा, न्याय क्षेत्रमा कार्यरत महिलाबाट अधिवक्ता साधना कर्ण, जिल्ला बाल क्लबबाट अध्यक्ष सलमा खातुन, सामुदायिक सेवा केन्द्रबाट अध्यक्ष धिरेन्द्रकुमार दास, जिल्ला स्तरीय समुदाय प्रहरी साझेदारी समितिबाट अनिता देवकोटा र सञ्चार क्षेत्रबाट नेपाल पत्रकार महासंघका सदस्य दिनानाथ यादवलाई चयन गरिएको छ । सदस्य सचिव (पदेन) मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्स्पेक्टर अवधेश कुमार यादव रहनु भएको छ ।
लैङ्गिक हिंसाका घटनाहरू तत्काल सम्बोधन गर्न कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने, लैङ्गिक हिंसा न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय श्रोतको पहिचान तथा परिचालन गर्ने, लैङ्गिक हिंसा न्यूनीकरणका लागि पीडितलाई सेवा प्रदान गर्ने एवम् जनचेतनामूलक कार्य गर्ने र सम्बन्धित निकाय, गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्य गर्ने सञ्जालको उद्देश्य रहेको छ ।


