काठमाडौँमा मङ्सिर ७ गतेको प्रदर्शनलाई लक्षित गरेर धादिङको ठाउँ ठाउँमा गरिएको सुरक्षा जाँचका कारण यात्रुले सास्ती खेपेका छन् । संविधानमा उल्लेखित अधिकार हनन् हुने गरी स्वतन्त्र पूर्वक हिँड्डुल गर्न समेत नदिने गरी सुरक्षा जाँच गरिएको हो ।
सशस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीले धादिङको मझिमटार, गल्छी, फुर्केखोला, खानीखोला लगायतका स्थानमा एक ठाउँमा जाँच गरिएको यात्रुलाई अर्को ठाउँमा पनि जाँच गरिएको हो ।
युवा सङ्घ र दुर्गा प्रसाईँको छुट्टाछुट्टै प्रदर्शन काठमाडौँमा राखिएपछि मङ्सिर ५ गते र मङ्सिर ६ गते राजमार्गका सात ठाउँमा यात्रु जाँच गरिएको र प्रदर्शनमा जान लागेको भनिएकाहरूलाई फर्काइएको गल्छीका स्थानीय सञ्चारकर्मी सन्दिप घिमिरेले जानकारी दिनुभयो ।
गल्छीमा मोटरसाईकल र मालबाहक ट्रकहरू जाँच गरिएको छ भने मझिमटारमा यात्रुबहाक बस र खानीखोलामा निजि सवारी साधन जाँच गरेर हातहतियार र लाठिभाला काठमाडौँमा लान नदिने गरी सुरक्षा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । अराजक जस्तो शङ्का लाग्नेहरूलाई सुरक्षा जाँचको क्रममा फर्काइएको मिश्रको भनाई छ ।
युवा सङ्घले काठमाडौँमा हुने प्रदर्शनमा युवाहरूलाई काठमाडौँ लान केही यात्रु बस मङ्सिर ७ गतेका लागि रिजर्भ गरेको छ । राजमार्गमा गरिएको सुरक्षा जाँचका कारण रिजर्भ बस लान नसकिने देखिएपछि मङ्सिर ६ गते काठमाडौँ जान थालेको युवा सङ्घका सदस्य किरण पाठकले जानकारी दिनुभयो । धादिङको सिमाना नागढुङ्गामा भने सुरक्षा जाँचका कारण सवारी साधनको चार किलोमिटरसम्म लाम लागेको छ ।
