अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले संविधानले संवैधानिक मान्यता दिएको स्थानीय तहको अधिकार कटौति गर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।
गुरुप्रसाद लुइटेल अध्ययन तथा विकास केन्द्रले लुइटेलको जन्मजयन्तीका अवसरमा साउन १४ गते आयोजना गरेको समृद्ध राष्ट्र निर्माणमा स्थानीय तहको निर्वाचन विषयक विचार गोष्ठीमा मुख्य वक्ताको रूपमा धारणा राख्दै अध्यक्ष प्याकुरेलले स्थानीय सरकार अधिकार सम्पन्न बनाइनु पर्ने बताएका हुन् । मन्त्रालयले पत्राचार गरेर संविधानले स्वायत्त राखेको स्थानीय तहको अधिकार कटौति गर्न थालेको उनको आरोप छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र जारी गर्दै संविधान प्रदत्त स्थानीय तहको अधिकार कटौति गरेर स्थानीय तहलाई अपाङ्ग बनाउन खोजेको उनले आरोप लगाए ।
संवैधानिक अधिकार र स्थानीय तहबाट उठेको राजश्व समेत केन्द्रीकृत गरेर स्थानीय तहलाई अधिकारविहीन बनाउन खोजेको प्याकुरेलको भनाइ छ ।
इन्सेकका अध्यक्ष प्याकुरेलले भने-‘नागरिकले हरेक काम विधिले निर्धारण गरे अनुसार गर्न सरकारलाई जनादेश दिएको भन्दै निरङ्कुशता र प्राधिकारका विरुद्ध लड्न सधैँ तयार छौँ ।‘ विधिको शासन नभएकै कारण गणेश उज्जनका हत्यामा सर्वोच्च अदालतले हत्यारा करार गरिसकेका बालकृष्ण ढुङ्गेल र गुरुप्रसाद लुइटेलको हत्याराहरू खुलेआम हिँडेको पनि उनको भनाइ छ ।
जबाफदेहीता निगरानी समितिका अध्यक्ष चरण प्रसाइले विधिको शासन नहुँदा नागरिकले सास्ति र हैरानी व्यहोरेको बताए । उनले विधि स्थापना नभएसम्म गुरुप्रसाद लुइटेलका परिवारले न्याय नपाउने बताए ।
कार्यक्रममा बेपत्ता परिवार समाजका अध्यक्ष रामकुमार भण्डारीले द्वन्द्वकालमा नागरिक बेपत्ता बनाउन आदेश दिने र युद्ध गर्ने मिलेर शासन गरेर पीडित परिवारका आँसुमा रमाएको आरोप लगाए । द्वन्द्वमा बेपत्ता पारिएका नागरिकको आफन्तको नाममा माओवादीले राजनीति गरिरहेको उनले आरोप लगाए ।
विचार गोष्ठीमा एमाले नेता योगेश भट्टराई, सांसदहरू रामहरि खतिवडा, शकुन्तला राजभण्डारी, राजपाका नेता मनिष सुमन र युवा सङ्घका अध्यक्ष राजीव पहारीलगायतले गुरुप्रसाद लुइटेलका हत्यारालाई कारबाही गर्न माग गरे ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तत्कालीन जिल्ला अध्यक्ष तथा ज्ञान प्रकाश माविका शिक्षक फूलवारी गाविस-७ का गुरुप्रसाद लुइटेललाई सुराकीको आरोपमा माओवादीले ०६० भदौ २२ गते अपहरण गरी यातना समेत दिएर ०६० असोज ७ गते वरुणेशवर गाविस-१ को पिपलको रुखमा झुन्ड्याएर हत्या गरेको इन्सेकको अभिलेखमा उल्लेख छ ।
सो घटनाका सम्बन्धमा पीडित पक्षले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा जिल्ला अदालत ओखलढुङ्गामा मुल्तवीमा रहेको छ । सर्वोच्च अदालतले मुद्दालाई जगाउन आदेश दिए पनि अघि नबढेको पीडित परिवारका सदस्यले गुनासो गरेका छन् ।