प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ । न्यूयोर्कमा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सन् २०२३ को दिगो विकास लक्ष्यको शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरूको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ०८० असोज १ गते सम्बोधन गर्नुभएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दिगो विकासका लक्ष्यहरू हासिल गर्न र अति कम विकसित देशहरूको उत्थानका लागि विकसित मुलुकहरूले यसअघि प्रतिबद्धता जनाए अनुसारको साथ र सहयोग गर्नुपर्ने बताउनु भएको छ । दाहालले अतिकम विकसित देशहरूले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले विकसित मुलुकहरूले दोहा कार्ययोजनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी प्रधानमन्त्री दाहालले कोभिड-१९ को महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरूको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्दार योजना जरुरी रहेको उल्लेख गर्नुभयो । सन् २०२१ को तुलनामा सन् २०२२ मा अतिकम विकसित देशहरूमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय उर्जा, खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले सङ्कटको जोखिम बढाएको समेत उहाँले बताउनु भयो ।
अतिकम विकसित मुलुकहरूलाई दिगो विकास लक्ष प्रोत्साहन प्याकेजमार्फत सहुलितयपूर्ण सहायता प्रदान गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । शिखर सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भन्नुभयो, ‘अतिकम विकसित देशहरू वित्तीय सङ्कटको मारमा परेका छन् । तर हामीहरूको प्रतिबद्धतालाई पछाडि धकेलेका छैनौँ । हामीहरूले आन्तरिकरूपमा अधिकतम स्रोत र साधन परिचालन गरेर सहश्राव्दी लक्ष्य हासिलमा अगाडि बढिरहेका छौँ । हामीहरूको एक्लो प्रयासले मात्र यो सम्भव छैन । तसर्थ विकसित देशहरूले दोहा घोषणापत्र अनुसारको प्रतिबद्धता महत्तवपूर्ण छ जसले नागरिकहरूमा बढीभन्दा बढी लगानी र संरचनागत परिवर्तनको लागि सहयोग र महामारी पश्चातको पुनः उत्थानमा र दिगो विकासमा सहयोगी भूमिका निर्वाह गर्नेछ ।’
