INSEC Online

📅 २०८३ जेष्ठ २१

सुन तस्करीबारे समाचार लेख्दा पत्रकार तिमल्सिनालाई ज्यान मार्ने धम्की

नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता एवम् नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका सल्लाहकार तथा पूर्व अध्यक्ष मोतिराम तिमल्सिनालाई सुन तस्करीको बारेमा समाचार लेखेको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले ज्यान मार्ने धम्की दिएका छन् ।

तिमल्सिनाले ०८० भदौ २९ गते न्युज अफ नेपाल डट्कममा ‘मलद्वारमा लुकाइ ल्याएको सुनले काभ्रे कांग्रेसमा खैलाबैला’ शीर्षकमा सुन तस्करीको बारेमा समाचार लेख्नु भएको थियो ।

सोही समाचारको विषयलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफूलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेको पत्रकार तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँले समाचारका विषयमा चित्त नबुझेको अवस्थामा कानुनी र वैद्यानिक बाटो अवलम्वन नगरी गैरकानुनी ढङ्गबाट सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएका फेसबुक पोस्ट, कमेन्ट तथा आफ्ना तस्वीरहरूको गलत प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा भदौ ३१ गते उजुरी दिनुभएको छ ।

घटनाबारे प्रेस चौतारी नेपालले भदौ ३१ गते विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकार मोतीराम तिमल्सिनामाथि आएको ज्यान मार्ने धम्कीप्रति आपत्ति जनाएको छ ।

‘कुनै पनि समाचारमा चित्त नबुझे खण्डन छाप्ने लगायतका वैधानिक प्रक्रिया हुँदाहुँदै धम्क्याउने, अनावश्यक गालीगलौज गर्ने र चरित्रहत्या गर्ने कार्य किमार्थ स्वीकार्य हुन सक्दैन ‘, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचारप्रति चित्त नबुझे त्यस उपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको प्रेस चौतारीले जनाएको छ ।

पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको घटनालाई गम्भीरता पूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग माग गरेको छ ।

अन्य

भिडियो