INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ताहरूको खोजीमा सरकार गम्भीर छः कानुनमन्त्री श्रेष्ठ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले देशमा भएका विभिन्न राजनितिक आन्दोलनहरूमा बेपत्ता भएका व्यक्तिहरूको खाजीकार्यमा सरकार गम्भीर रहेको बताउनु भएको छ ।

बलपूर्वक बेपत्ताविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले बुझाउनुभएको ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले द्वन्द्वपीडितहरूको न्याय तथा परिपुरणको लागि सङ्घीय सरकार र प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

Photo_080-5-13_Makwanpur

पीडितलाई न्यायको प्रत्याभूति दिलाउनु पर्ने राज्यको दायित्व भएकाले बागमती प्रदेश सरकारले प्रदेशभित्रका बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा चासो र चिन्ता लिँदै बेपत्ता पारिएका व्यक्तिहरूका पीडित परिवारलाई सत्य, न्याय र परिपूर्णको व्यवस्थाको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको पनि मन्त्री श्रेष्ठले बताउनु भयो ।

ज्ञापन पत्र बुझाउँदै इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले द्वन्द्वपीडितको सवाल राजनीतिसँग जोडिएको भएता पनि चुनावी मुद्दा मात्र बन्ने गरेको बताउनु भयो । द्वन्द्वपीडितका सवाल राजनीतिक दलको मुद्दा बन्ने गरेको तर समाधान गर्न राजनीतिक दल र सरकार स्वयम् नै अग्रसर नदेखिएको उहाँले बताउनु भयो ।

संयोजक भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक’ संसदमा पेश भए पनि पास हुन नसक्दा अझै पीडित परिवार पीडित बन्दै गएको बताउनु भयो ।

बल पूर्वक बेपत्ताविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले इन्सेकद्वारा प्रकाशित ‘उनिहरू कहाँ छन् ?’ पुस्तक पनि मन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

Photo_080-5-13_Makwanpur1

अन्य

भिडियो