INSEC Online

📅 २०८३ जेष्ठ २१

राजविराजमा मैनबत्ती जुलुश प्रदर्शन

Candle (3)

सप्तरीका पत्रकारहरूले पाँचौ दिन साउन २८ गते पनि आन्दोलनलाई जारी राख्दै राजविराजमा मैनबत्ती जुलुश प्रदर्शन गरेका छन् ।

प्रेस स्वतन्त्रताको रक्षा र पत्रकार, अधिकारकर्मीमाथि भएको आक्रमणका विरुद्ध न्याय खोज्दै पत्रकारहरूले सिमसिम पानीमा भिज्दै मैनबत्ती जुलुश प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघका सल्लाहकार र इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलमाथि आक्रमण गर्ने दोषी प्रहरी माथि कानूनी कारबाही र जिल्ला प्रशासन कार्यालयले फोटो, भिडिओ खिच्न निषेध गरेको सूचनालाई क्षमायाचनासहित फिर्ता गर्नुपर्ने माँग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी आन्दोलनरत छ ।

महासंघको कार्यालयबाट व्यानरसहित निक्लिएको जुलुशले जिल्ला प्रशासन कार्यालय, अदालत रोड, गजेन्द्र चोक, नगरपालिका कार्यालय हुँँदै नगर परिक्रमा गरेको छ । महासंघ सप्तरीका उपाध्यक्ष बैद्यनाथ यादवको नेतृत्वमा निक्लिएको जुलुशमा पूर्व अध्यक्षहरू विष्णु मण्डल र बैद्यनाथ झा समेतको सहभागिता रहेको छ ।

महासंघले सुरु गरेको आन्दोलनप्रति एैक्यबद्धता जनाउँदै मैथिली साहित्य परिषद् र मिलाफ नेपालले विज्ञप्ति प्रकाशित गरेको छ । श्रृङ्खलाबद्ध रुपमा आक्रमण, धम्की, जिल्ला प्रशासन कार्यालयमा प्रवेश निषेध र जिल्ला प्रशासन कार्यालयमा अनुमति बिना फोटो, भिडिओ लिए कारबाही गर्ने चेतावनीसहितको जारी सूचनाले पत्रकारहरूले असुरक्षित महसुस गरी त्यस विरुद्ध आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ ।

उच्च अदालतले परमादेश गरेको उजुरी दर्ताका विषयमा सूचना सङ्कलन गरी जिल्ला प्रहरी कार्यालयबाट फर्किन लागेका पोखरेलमाथि साउन १५ गते असई राजेश्वर महतोले कार्यालय परिसरमै मुक्का, बुटले कुटपिट र दुर्व्यवहार गरेका थिए । यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीले साउन २४ गते बिना अनुमति प्रशासन कार्यालय परिसरको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राखेमा कारबाही गर्ने सूचना जारी गरेको थियो ।

उक्त सूचना प्रशासन कार्यालयले विज्ञप्तिमार्फत फिर्ता लिएपनि महासंघले क्षमायाचनासहित फिर्ता लिनुपर्ने र पत्रकार पोखरेलमाथि आक्रमण गर्ने दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने माँग राख्दै आएको छ ।

Candle (2)

अन्य

भिडियो