
समावेशी अपाङ्ग संघ सप्तरीले इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेललगायत चार जनालाई साउन १७ गते सम्मान गरेको छ ।
राजविराजमा आयोजित समावेशी अपाङ्ग संघ सप्तरीको दोस्रो अधिवेशनका अवसरमा अपाङ्गता सम्बन्धी गतिविधि तथा कार्यक्रमहरूको सत्य तथ्य समाचार सम्प्रेषण गरी अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार सुनिश्चित गर्न खेलेको भूमिकाको कदर गर्दै दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको हो ।

उक्त अवसरमा गैसस महासंघ सप्तरीका अध्यक्ष दिपककुमार झा र बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीका अध्यक्ष जगदीश अर्याललाई समेत सम्मान गरिएको छ ।
समावेशी अपाङ्ग संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घान समारोहमा सम्मानित व्यक्तिहरूले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण, पहुँच र दिगो विकासका लागी सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाको सामाजिक विकास शाखाका महिला विकास निरीक्षक अनिता चौधरीले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गताको सवालहरूलाई स्थानीय तहको योजना तथा कार्यक्रमहरूमा समावेश गर्न आफू प्रयासरत रहेको बताउनु भयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेस प्रदेश कार्यालयका संयोजक प्रकाश नेपालीले अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेशीकरण गराउने उद्देश्यका साथ अपाङ्गता समावेशी विकास कार्यक्रम गर्दै आएको बताउनु भयो ।
समावेशी अपाङ्ग संघ सप्तरीका सचिव अशोक कुमार यादवले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राधा अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा नरेश कुमार चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।