INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रकाश काफ्ले स्मृति दिवसमा भन्साली पुरस्कृत

Thansing Bhansaliस्व. प्रकाश काफ्लेको ३१औं स्मृति दिवसमा नागरिक समाजका अध्यक्ष राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८० बाट सम्मानित गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर कुमार ठाकुरले मानव अधिकार उल्लङ्घनका घटनाको दोषीलाई छानविन, निलम्बन र कारवाही भन्दा पनि यो प्रवृतिलाई रोक्न आवश्यक रहेको बताउनु भएको छ ।

राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा साउन १६ गते इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको ३१औं स्मृति दिवसमा आयोजित समारोहमा बोल्नु हुँदै उहाँले उक्त कुरा बताउनु भएको हो ।

सामाजिक सेवा र परोपकारी कार्यबाट मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा ठूलो मद्दत पुग्ने बताउनु हुँदै उहाँले सज्जनबाट मानव अधिकारको संरक्षण हुने र दुर्जनबाट हनन् हुने बताउनु भयो । दुर्जनबाट समाज र व्यक्तिको रक्षा गर्नुपर्ने बताउनु भएका ठाकुरले सबैको अधिकारलाई संरक्षण गर्न सके मानव अधिकारको संरक्षण हुने बताउनु भयो ।

उक्त अवसरमा मानव अधिकारको संरक्षण तथा प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक गणतन्त्र र मधेस आन्दोलनमा सक्रिय र समन्वयकारी भूमिकामा रही नागरिकको चेतना र सामाजिक जागरणमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने नागरिक समाजका अध्यक्ष राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८० बाट सम्मानित गरिएको छ । आयोगका सदस्य ठाकुरले नगद ५ हजार ५ सय रुपियाँसहित दोसल्ला र सम्मानपत्रबाट भन्सालीलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा आयोगकी मधेस प्रदेश कार्यालय प्रमुख मञ्जु खतिवडाले मानव अधिकार उल्लङ्घन बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले मानव अधिकार उल्लङ्घनका घटना बढीरहेको बताउनु हुँदै पछिल्लो समय सप्तरी, जनकपुर, बारामा प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारको घटना दुःखद रहेको बताउनु भयो ।

मैथिली साहित्य परिषद्का अध्यक्ष तथा पत्रकार अवधेश कुमार झाले सप्तरीमा प्रहरी प्रशासनले पत्रकार, अधिकारकर्मी माथि दमन जारी राखेको कारण आवाजविहिनहरूको आवाज बन्न र पत्रकारिता गर्न समस्या भईरहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउनु भयो ।

बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषका अध्यक्ष वैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन, राष्ट्रिय मारवाडी महिला मञ्चकी केन्दीय उपाध्यक्ष मञ्जु शारदा, पुरस्कृत थानसिंह भन्साली र कञ्चन झा लगायतले मानवअधिकारको संरक्षण हुनुपर्नेमा उल्टै मधेस प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा उर्मिला देबी झा स्मृति मैथिली गीत गायन पुरस्कारबाट कञ्चन झालाई नगद २ हजार ५ सय ५५ रुपियाँसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ ।

कोषका सदस्य सचिव मनोहर कुमार पोखरेलले उद्देश्यबारे प्रकाश पार्दै सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोषका सदस्य समेत रहनु भएका नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले गर्नुभयो ।

नुवाकोटको घोप्टे भीरमा ०४९ साउन १६ गते थाई विमान दुर्घटनामा काफ्लेको निधन भएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २१औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित वैद्यनाथ झाले प्राप्त गर्नुभएको ५० हजार रुपियाँ पुरस्कार राशीबाट स्थापना गर्नुभएको वैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

यो पुरस्कारबाट २०७३ सालमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टी कनकपुरका बलदेव राम, २०७४ सालमा छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक, २०७५ सालमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ हरीहरपुर मट्टिगढाका असर्फी सदा, २०७६ सालमा राजविराज नगरपालिका–६ का मनोहर कुमार पोखरेल, २०७७ सालमा खडक नगरपालिका–८ की रुबी कर्ण, २०७८ सालमा राजविराज नगरपालिका–७ की अनीता देवकोटा र २०७९ सालमा राजविराज नगरपालिका ५ का हितनारायण लाल दास सम्मानित हुनु भएको थियो ।

कार्यक्रमको आरम्भमा सहभागीहरूले स्वर्गीय काफ्लेको तस्वीरमा अबिर, माला र पुष्प गुच्छा अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

Kanchan Jha

Maun Dharan

अन्य

भिडियो