साविक मांखा र राम्चे गाविस हाल बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको बीचमा रहेको जुरे (कान्ले) मा गएको भिषण पहिरोले सुनकोशी नदि थुनिएर क्षति पुर्याइ पीडित भएका २ सय ८० घर परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले जनस्तरबाट उठेको २ करोड २४ लाख ६६ हजार ६ सय ८५ रुपियाँ वितरण सम्पन्न गरेको छ ।
साविक धुस्कुन, राम्चे र मांखा गाविसमा ०७१ साउन १७ गते राती जुरेमा आएको भिषण पहिरोले सुनकोशी नदि थुनिएर २ सय ८० घर बगाएको थियो भने ८३ जना महिला सहित १ सय ४२ जनाको मृत्यु भएको थियो ।
जुरे पीडित परिवारलाई बितरण गर्न जनस्तरबाट सङ्कलन गरिएको रकम तत्कालिन समयमा गृह मन्त्रालयको आदेश भन्दै जिल्ला प्रशासन कार्यालयले वितरणमा रोक लगाएको थियो ।
तत्कालिन मांखा गाविस-६ हाल बलेफी गाउँपालिकाका ३३ परिवारका ६५ जना महिला सहित १ सय १३ जना, तत्कालिन राम्चे गाविस हाल बाह्रबिसे नगरपालिका-९ का तीन परिवारको चार जना महिला सहित आठ जना र तत्कालिन धुस्कुन गाविस-८ हाल त्रिपुरा सुन्दरी गाउँपालिका-३ का पाँच परिवारका १४ जना महिला सहित २१ जना गरी जम्मा ८३ जना महिला सहित १ सय ४२ जनाको मृत्यु भएको थियो भने २ सय ८० घर बगाएर विस्थापित भएका थिए ।
हाल पहिरोबाट पीडित भएका प्रति मृतक परिवारलाई २० हजार रुपियाँको दरले राहत वितरण गरिएको छ भने घर जग्गा जमिन बगाएर विस्थापित भएकाहरूलाई क्षतिको वर्गिकरण अनुसारको रकम वितरण सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भयो ।
जिल्ला विपद व्यवस्थापन समितिको ०७९ चैत २८ गते बसेको बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७९ को परिच्छेद ७ को दफा १६ बमोजिम जुरेमा भएको क्षति तथा मृतकका परिवारलाई राहत वितरण गर्ने निर्णय भएको थियो । यसअघि नेपाल सरकार मन्त्रिपरिषदको ०७९ फागुन २४ गते बसेको बैठकले जुरे पहिरो पीडित परिवारलाई जनस्तरबाट सङ्कलन भई नेपाल बैकं लिमिटेड चौताराको खातामा रहेको रकम जिल्ला विपद व्यवस्थापन समिति मार्फत वितरण गर्न निर्देशन गरेको थियो ।
पहिरो पीडितको एकिन तथ्याङ्कको आधारमा घरमुलि वा सम्बन्धित पीडितको कानुनी हकदारको नाममा खोलिएको बैंक खाता सम्बन्धित तहबाट प्रमाणित भएर आएपछि जिल्ला प्रशासन कार्यालयले राहत सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिएको साहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनु भयो । जुेर पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित रकम ने.बैं.लि बाट कोष तथा लेखा नियन्त्रक कार्यालयमा जम्मा गरी जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको साहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।
जुरे पहिरोले सुनकोशी नदि ४८ घण्टा सम्म थुनिएर दह बनेको थियो । भय र त्रासमा बसेका नागरिकहरूको अवस्था अनुगमन गर्न तत्कालिन अवस्थामा मानव अधिकार आयोग र इन्सेक समेत घटना स्थलमा पुगेको थियो । घटनको अध्ययन तथा अनुगमन गरी मृतकका परिवार, विस्थापित व्यक्तिहरू र घरबार विहिन भएकाहरूलाई तत्काल राहत वितरण गर्न इन्सेकले नेपाल सरकारसँग अनुरोध समेत गरेको थियो ।
पहिरोबाट पीडित भएकाहरू सबै परिवारलाई ०८० असार १६ गतेदेखि हालसम्म जनस्तरबाट उठेको राहत रकम वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भयो ।