१७ वर्षीया बालिकाको सामूहिक बलात्कार घटनामा आरोपित कञ्चनरुप नगरपालिका–१२ धर्मपुर टोलका ४० वर्षीय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई प्रहरीले साउन १ गते गिरफ्तार गरेको छ ।
बलात्कार घटनाका योजनाकारसहित चारै जनालाई गिरफ्तार गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी दिपककुमार रायले जानकारी दिनुभयो ।
आरोपितहरूले असार २९ गते राति बालिकाको घरमा पसेर नियन्त्रणमा लिई कोही नबस्ने छेउको फुस घरमा लगेर सामूहिक बलात्कार गरेको पीडितले बताउनु भयो । होटल व्यवसायी टेकराजको निर्देशनमा अन्य तीन जनाले पालै–पालो बलात्कार गरेको पीडितले बताउनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण साउन १ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भयो । हिड्डुल गर्न असमर्थ बनेकी पीडितको शरीरभरी निलडाम रहेको छ ।
आमाबहिनीसँगै घरमा बसिरहेका बेला फोन गरेर असार २९ गते राति भेट्न आएका केटा साथीलाई आरोपितहरूले कुटपिट गरेको र सँगै बसाएर फोटो खिचेको पीडितले बताउनु भयो । पीडितले भन्नुभयो – ‘केटा साथीलाई एउटा कोठामा तथा बहिनी र आमालाई अर्को कोठामा थुनी बाहिरबाट चुकुल लगाएका आरोपितहरूले मलाई सम्झाउनु छ भन्दै घरभन्दा ५० मिटर टाढा हात्तीले भत्काएर मानिस नबस्ने गरेको खाली घरमा लगेर बलात्कार गरे ।’