INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेदको कारवाहीबाट जोगिन मिलापत्र, मिलापत्रपछि दलित समुदायलाई सामूहिक बहिष्कार

घिरिङ गाउँपालिका–३ को अर्चलबोटमा जातीय विभेदको घटनामा मिलापत्र भएपछि उक्त टोलका १० घर दलित समुदायलाई गैरदलित समुदायले सामूहिक बहिष्कार गरेका छन् । गत जेठ २० गते उक्त वडाको मानपुर टोलका बमबहादुर थापाको घरमा बंगुर काट्ने क्रममा स्थानीय २५ वर्षीय खिमबहादुर थापाले सोही ठाउँका ३५ वर्षीय शिव परियारलाई ‘मासु नछो’ भनेर विभेद गरेको पीडितको आरोप छ । उक्त घटनापछि जातीय विभेदको विरुद्धमा कानुनी कारवाहीको प्रक्रियामा जाने चेतावनी दिएपछि स्थानीय व्यक्तिहरुको अनुरोधमा जेठ २२ गते दुई पक्षबिच मिलापत्र भएको पीडित परियारले बताउनु भयो ।

उक्त मिलापत्रमा जातीय विभेद गर्ने खिमबहादुरले पीडित शिव परियारसँग माफी माग्नु पर्ने र पीडितले पनि माफ दिने सहमति भएको थियो । साथै अब उप्रान्त अर्चलबोट भित्र हुने कुनै पनि सार्वजानिक स्थल, मेलापात तथा अन्य कुनै पनि स्थानमा कसैले पनि जातीय विभेद नगर्ने घोषणा पनि भएको र कसैले जातीय विभेद गरेमा कानुनी कारवाहीमा जाने सहमति भएको परियारले जानकारी दिनु भयो । साथै उक्त टोलभित्र हुने कुनै पनि भोज भतेर, मासु काटमार लगायतका स्थानमा पनि कसैले पनि जातीय विभेद नगर्ने तथा टोलभित्र हुने भान्सा भतेरमा पनि विभेद नगर्ने सहमति भएको स्थानीय पत्रकार तथा घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियारले जानकारी दिनु भयो ।

उक्त सहमति पत्रमा साक्षीको रुपमा पीडित पक्षको तर्फबाट पत्रकार अन्जान परियार, मानबहादुर परियार र धनबहादुर परियार तथा विपक्षीको तर्फबाट नेपाली कांग्रेस घिरिङ गाउँ कार्य समितिका सभापति यामबहादुर थापा, प्रेमबहादुर थापा र जसबहादुर गुरुङले हस्ताक्षर गर्नु भएको थियो । साथै ४५ जना गाउँलेहरुले सामूहिक रोहबरमा हस्ताक्षर गरेका छन् ।

उक्त मिलापत्रपछि दलित समुदाय सामूहिक बहिष्कारमा परेको पत्रकार परियारले जानकारी दिनु भयो । जातीय विभेदमा दलित समुदायले माफी दिएर मिलापत्र गरेपछि स्थानीय गैरदलित समुदायले त्यसको बदलामा अर्चलबोटका दलित समुदायलाई सामूहिक बहिष्कार सुरु गरेको उहाँको आरोप छ । जातीय विभेद गर्ने गैर दलित व्यक्तिलाई आफ्नै गाउँले साथीभाइ ठानेर माफी दिएका दलित समुदाय अहिले सामूहिक बहिष्कारमा परेपछि झन् पीडित भएको परियारको भनाइ छ ।

photo20230708tanahu

अन्य

भिडियो