INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाको आरोपमा पति गिरफ्तार

राजविराज नगरपालिका–१ बस्ने २२ वर्षीया आरती कुमारी कापैरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका पति २० वर्षीय मो. जैदिन भनिने मो. समिरलाई असार १८ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

मृतकका बुबा धनुषाको सबैला नगरपालिका–१० खरिहानीका रामकुमार कापर केवटको उजुरीमा आरोपित समिरलाई गिरफ्तार गरी आत्महत्या दुरुत्साहनमा कारबाही थालिएको इन्स्पेक्टर राजिव गिरीले बताउनु भयो ।

मृतक कापैरको साढे १ वर्ष अघि जातीय रीतिरिवाज तथा सामाजिक परम्पराअनुसार सिरहा जिल्लाको सिरहा नगरपालिका–११ भलुवाहीका सुबध कामैतसँग विवाह भएको थियो । मृतकसँग सामाजिक सञ्जालमार्फत १० महिना अघि सम्पर्कमा आएका आरोपितले विभिन्न लोभ, प्रलोभन दिई प्रेमजालमा पारी भदौ ९ गते भगाएर पत्नी बनाएर राखेका थिए ।

घरपरिवारले बुहारी अस्विकार गरेपछि पीडित र आरोपित राजविराज नगरपालिका–३ मा डेरा लिई बसोवास गर्दै आएका थिए । राजविराज नगरपालिका–४ बजारस्थित फलफूल पसलमा मजदुरी गर्ने आरोपित रोजगारीका लागि पसल आएका बेला राजविराज नगरपालिका–३ स्थित डेराको शौचालयमा भित्रबाट चुकुल लगाएर पीडितले सलको पासो लगाई असार ८ गते आत्महत्या गरेकी थिइन् ।

कापैरको मृत्यु भएको भनी असार १० गते प्रहरी चौकी खरियानी, धनुषामार्फत खबर पुगेपछि मृतकका बुबा राजविराज आएका थिए । छोरीलाई भगाएर विवाह गरेका आरोपित समिरले शारीरिक यातना र मानसिक तनाव दिई आत्महत्या गरी मर्न दुरुत्साहित गरी बाध्य बनाएको भन्दै मृतकका बुबा केवटले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार १० गते पोष्टमार्टम भयो ।

अन्य

भिडियो