तातोपानी गाउँपालिका–४ गिडीखोलाका १९ वर्षीय मुकुन्द नेपालीले १४ वर्षिया बालिकासँग एक हप्ता अघि प्रेम विवाह गरेको भन्दै अन्तरजातीय विवाह गरेको रिसमा मुकुन्द नेपालीको घरमा आगो लगाउने पीडित बालिकापक्षका आफन्तविरुद्ध असार १८ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय छुवाछुत तथा भेदभाव विरुद्धको उजुरी दर्ता भएको छ ।
पीडित बालिकाका दाइ, बुबा र काकाविरुद्ध जातीय छुवाछुत तथा विभेदको उजुरी दर्ता भएको मुकुन्दका दाइ भरत नेपालीले बताउनु भयो । उहाँले भन्नुभयोे-“विवाह वैधानिक नभए कारबाही गर्ने, छलफल गर्ने प्रक्रिया अनेक थिए । तर दलित केटाको घरमा सुनियोजित ढङ्गबाट आगो लगाइयो । पाँच वर्षअघि मात्रै बनाएको नयाँ घरमा आगो लगाइदिएपछि परिवार अब घरबारविहीन हुनुपरेको छ ।” उहाँका अनुसार भाइ मुकेन्द पनि अहिले परिवारका कसैको सम्पर्कमा हुनुहुन्न ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर धर्मराज जोशीका अनुसार मुकुन्द पक्षबाट प्राप्त निवेदनका आधारमा घरमा आगोले लगाउने पीडित बालिका पक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता भएको छ । उहाँले भन्नुभयो-‘मुद्दा शाखाको दर्ता किताबको १०५ दर्ता नम्बरमा (आपराधिक, उपद्रव र जातजातीको आधारमा छुवाछुत वा अन्य विभेदपूर्ण व्यवहारको कसुरमा) उजुरी दर्ता भएको हो ।’
मुकुन्दका दाइ भरतले असार १७ गते बिहानै घर जलाएको आरोपमा पीडत बालिकाका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएको बताउनु भयो । सोही निवेदनका आधारमा बसन्तीका दाई हिम्मत गिरीलाई सोही दिन नै गिडीखोला गाउँबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
इन्स्पेक्टर जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । उहाँले भन्नुभयो-“पहिले पनि यही विषयमा विवाद भएको रहेछ । बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको छ । मुद्दा पनि दर्ता भइसकेकोले अब घटनाको विस्तृत अनुसन्धान हुने छ ।” आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको इन्स्पेक्टर जोशीले जानकारी दिनु भयो । पीडित भरतले क्षतिपूर्तिको माग सहित किटानी दिएका छन् ।
केटीपक्षका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पेश गरेको स्कूलको मार्कसिट अनुसार १५ वर्ष पनि नपुगेको देखिन्छ । अहिले आधिकारिक विवाह गरेको त देखिएको छैन । केटाले भगाएर लिएको देखिन्छ । पछि यो घटना बालविवाह, बलात्कार, अपहरण पनि भएको भनेर उजुरी आउने सम्भावना देखिएको छ । उमेर नपुगेकाले नाबालिका भएको पनि देखिन्छ । अनुसन्धान गर्दैछौँ इन्स्पेक्टर जोशीले बताउनु भयो ।



