त्रिभुवन विश्वविद्यालयले कनिष्ठ प्राध्यापक कविता लुइँटेललाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले भक्तपुर बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी ११ दिन बितिसक्दा पनि नखुलेपछि पठनपाठन प्रभावित बनेको छ ।
नेपाल विद्यार्थी सङ्घले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइ विरोध गर्दै गरेको र तालाबनदी नखुलेपछि पठनपाठनमा समस्या आएको विद्यार्थी प्रकाशजङ्ग कार्कीले बताउनु भयो ।
नेवि सङ्घले निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई क्याम्पस प्रमुख बनाउनु पर्ने माग गर्दै क्याम्पस प्रमुखको कुर्सी, नेम प्लेट रुखमा झुण्ड्याउनुको साथै प्राध्यापकहरूले हाजिर गर्ने दुई ओटा ‘थम्प एटेन्डेन्स’ गायब बनाएको उहाँले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख कविता लुइँटेलले आन्दोलनरत विद्यार्थी सङ्गठनलाई वार्तामा आउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेको बताउनु भयो ।
क्याम्पसका प्राध्यापक सङ्घ अध्यक्ष रामबहादुर थापाले आन्दोलनरत विद्यार्थी सङ्गठनसँग वार्ताका लागि सम्पर्क गर्ने प्रयास भइरहेको बताउनु भयो ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले भक्तपुर बहुमुखी क्याम्पसमा भएको तालाबन्दी र क्याम्पस प्रमुखले पद बहाली गर्ने क्रममा कुर्सी रुखमा झुण्ड्याएकोमा अर्को विरोध गर्दै कारबाहीको माग गरेको छ ।
अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष यादव दुलालले त्रिविले क्याम्पस प्रमुख नियुक्त गरेको कविता लुइटेललाई कारण बिना नै अभद्र व्यवहार गरिएको र क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति पुग्ने खालको गतिविधि गरेको भन्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
अखिल क्रान्तिकारीले पनि क्याम्पसमा भएको घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न र तालाबन्दी तत्काल खोलेर क्याम्पसमा सहज अध्ययन अध्यापनको अवस्था सृजना गर्न माग गरेको अनेरास्ववियु क्रान्तिकारी भक्तपुर क्याम्पसका अध्यक्ष नवराज सिंह धामीले बताउनु भयो ।
