INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिला स्वास्थ्य बिमा सेवाबाट बञ्चित

तामाकोशी गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने भनेर फाराम भराएको भए पनि बिमा बापतको पैसा पालिकाले नदिएपछि उनीहरू सेवाबाट बञ्चित भएका छन् ।

तामाकोशी गाउँपालिकाले बजेटको व्यवस्था नगरिदिँदा गाउँपालिकाभित्रका करिब १ हजार नागरिकहरू स्वास्थ्य बिमाको सेवाबाट बञ्चित भएका छन् ।

२ सय जनाभन्दा धेरैको ०७९ मङ्सिरबाट सेवा पाउने गरी फाराम भरेर पालिकामा बुझाएको भए पनि अस्पताल जाँदा सेवा नपाएपछि नागरिकहरूले आफूसँग आक्रोस पोख्ने गरेको वडा नम्बर ६ च्यामाकी दर्ता सहयोगी गोमा फुयाँलले गुनासो गर्नुभयो ।

बिमाको प्रिमियम शुल्कमध्ये १० प्रतिशत रकम पारिश्रमिक पाउने गरी नियुक्त भएकोमा पालिकाले पैसा नदिँदा बिमा सक्रिय नहुँदा फाराम भरेको आफ्नो महिनौँको मेहनतसमेत खेर गएको वडा नम्बर ३ जफेकी दर्ता सहयोगी सिर्जना बस्नेतको भनाई छ । बस्नेतका अनुसार जफेमा १ सय ५० जनाभन्दा धेरैको फाराम भरिएको छ ।

पालिकाले बिमा गरिदिने कोटामा फाराम भरेर बिमा सक्रिय नहुनेमा सबैभन्दा धेरै वडा नम्बर ६ च्यामाका २ सय जना, वडा नम्बर ३ जफेका १ सय ५० जना, वडा नम्बर २ झुलेका १ सय ५० जना, वडा नम्बर ५ शहरेका ५० जना रहेका छन् । त्यसैगरी भिरकोटका ६५ जनाको बिमा नविकरण हुन सकेको छैन् ।

त्यसैगरी वडा नम्बर ७ हाँवाका दर्ता सहयोगीसँग सम्पर्क हुन सकेन भने वडा नम्बर ४ मालुमा दर्ता सहयोगी नरहेको पाइएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले स्वास्थ्य बिमा नहुनेको कारणबारे फरक फरक किसिमको प्रतिक्रिया दिनुभएको छ । कहिले पालिकाले बजेट नछुट्याएको, कहिले प्रशासकीय अधिकृत नभएर पैसा नदिएको तथा केही वडाको मात्र थोरै सङ्ख्यामा दिन बाँकी रहेको बताउनुभएको छ ।

वडा नम्बर ६ का २ सय १ जनाको फाराम पालिकामा बुझाएकोमा ८० जनाको पैसा लिन आउनु भन्ने खबर पाएको दर्ता सहयोगी फुयाँलले बताउनु भयो । तर अन्य वडाका हकमा भने पैसाको खबर नआएको दर्ता सहयोगीहरूले बताएका छन् । यसरी स्वास्थ्य शाखामा स्वास्थ्य बिमाको एकिन तथ्याङ्क नहुनुले स्वास्थ्य शाखा कति लापरबाही ढङ्गले काम गरिरहेको छ भन्ने प्रष्ट पारेको छ ।

गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले अघिल्लो आर्थिक वर्ष स्वास्थ्य बिमाका लागि छुट्याइको ३५ लाख रुपियाँको खासै सदुपयोग नभएको समीक्षा भएपछि चालु वर्षका लागि रकम घटाएर राखिएको भए पनि अन्य कुरा स्वास्थ्य शाखासँग बुझ्नुपर्ने बताउनु भयो । चरिकोट गएर स्वास्थ्य बिमाको सेवा लिन पालिकाबासी नागरिकलाई अपायक परेकोले मालु अस्पतालमै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनको अनुमतिका लागि पहल गरिरहेको बताउनु भयो ।

पालिकाले समयमा उचित व्यवस्थापन नगरिदिँदा हजारौँ नागरिक बिमा फाराम भरेर १० महिनादेखि प्रभावहिन कार्ड बोकेर बसेका छन् भने उपचार गर्न अस्पताल पुग्नेहरू निराश भएर फर्किन बाध्य भएको गुनासो गर्न थालेका छन् ।

Photo_080-2-31_Dolakha

अन्य

भिडियो