INSEC Online

📅 २०८३ जेष्ठ २१

बक्यौता रकम माग गर्दै कपिलवस्तुका उखु किसान चार दिनदेखि धर्नामा

महालक्ष्मी सुगर्स मिल्स कपिलवस्तु (हाल स्थानान्तरण गरी सर्लाही) ले २०७१ सालदेखि नदिएको सरकारी अनुदान रकम माग गर्दै कपिलवस्तुका किसानहरू माइतिघर मण्डलामा धर्नामा बसेका छन् ।

मिलले उखु किसानलाई तिर्न बाँकी रहेको आठ करोड ७९ लाख रुपियाँ बक्यौता रकम र सरकारबाट किसानलाई बाँड्न भनेर लागेको अनुदान रकम माग गर्दै कपिलवस्तुका ३१ जना उखु किसान ०८० जेठ २ गतेदेखि माइतिघर मण्डलामा धर्नामा बसेका हुन् ।

कपिलवस्तु किसान सङ्घ तथा उखु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले आर्थिक वर्ष ०७१/७२ देखि नेपाल सरकारले किसानलाई प्रति क्विन्टल २५ रुपियाँका दरले दिन भनेको अनुदान ब्याजसहित उपलब्ध गराउनु पर्ने, उखु खेतीमा सिँचाइको व्यवस्था हुनुपर्ने, किसानले ट्रयाक्टर खरिदमा भन्सार सहुलियत पाउनु पर्ने लगायतका माग राख्दै आफूहरू आन्दोलित हुनुपरेको बताउनु भयो ।

Photo_080-2-4_Kathmandu।

चौधरीले अनुदान बापतको पैसा माग्न जाँदा अर्थ मन्त्रालयले भ्याट छुटमार्फत उखु मिलले पैसा लागेको बताउने तथा उखु मिलसँग पैसा माग्न जाँदा मन्त्रालयले किसानलाई दिने अनुदान बापतको पैसा नदिएको भन्दै पन्छाउने गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै अर्का उखु किसान उमेश प्रसाद चौधरीले ०७७ पुस १३ गते नेपाल सरकारले अनुदान रकम दिने सम्झौता गरे पनि कार्यान्वयन नभएकाले आफ्नो माग सुनुवाइका लागि बाध्य भएर धर्नामा बस्नुपरेको उल्लेख गर्नुभयो ।

उहाँले महालक्ष्मी सुगर्स मिलका सञ्चालक वीरेन्द्रकुमार कनौडियाले आफ्नो एक लाख रुपियाँ भुक्तानी नदिई आलटाल गरिरहेको बताउनु भयो ।

त्यस्तै धर्नामा बस्दै आएका फारुक अहमदले सरकारले बर्सेनि उखुको मूल्य तोके पनि स्थानीय व्यापारीले कहिल्यै किसानलाई समयमा रकम नदिने गरेको बताउनु भयो ।

उहाँले किसानहरूले जीविकोपार्जनका रूपमा उखुखेती गरे पनि सरकारले किसानलाई संरक्षण गर्नुपर्ने समयमा उद्योगलाई संरक्षण गरेको आरोप लगाउनु भयो ।

Photo_080-2-4_Kathmandu१

अन्य

भिडियो