पुर्वपश्चिम हुलाकी राजमार्गसँग जोडिएकोे कैलारी गाउँपालिका–७ विपतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका ७१ घरपरिवारहरु एक वर्षदेखि टेण्टमूनि कष्टकर जिवन जिउन बाध्य भएका छन् ।
२०७९ वैशाख ११ गते गहुँको नलमा लगाइएको आगो गाउँमा सल्किदा विपतपुर मुक्त कमैया शिवरमा रहेका ७१ घरमा आगलागी भएर नष्ट भएपछि उनीहरु सरकारी तथा गैरसरकारी निकायले प्रदान गरेका अस्थायी टेण्टमूनि बस्न बाध्य भएका हुन् ।
आगलागी भएको एक वर्ष वितिसक्दा समेत घर पुनर्निर्माण कार्य सम्मन्न नहुँदा मुक्त कमैयाबस्तीका नारिकहरुले राहत स्वरुप दिएको टेण्टमूनि घाम, पानी र शितसँग संघर्ष गर्दै कष्टकर जिवन बिताउनु परेको हो ।

२०७९ वैशाख ११ गते खेतमा गहँुको नालमा लगाइएको आँगो गाउँमा सल्किदा ७१ घरधुरी, घरभित्रका अन्नपात, लुगाकपडा तथा पशुचौपाया जलेर नष्ट भएका थिए ।
वैशाख जेठ महिनाको प्रचण्ड गर्मी र साउन भदौ महिनाको झरीले टेण्ट भित्र बस्नै नसकिने अवस्था भएपनि बाध्यताले टेण्टको सहारामा जिउन बाध्य भएको पीडित जानकीदेवी चौधरीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘दिउसो गर्मीमा टेण्ट तातिएर भित्र बस्नै सकिन्न् । पानी परेको समयमा टेण्ट चुहिएर राति सुत्न सकिदैन् । पानी परेको दिन अनिदो बस्नु पर्ने बाध्यता छ ।’
आगलागीपछि स्थानीय र प्रदेश सरकारलगायत थुपै्र संघसंस्थाहरुले खाद्यान्न, लुगाकपडा, पानी, स्थायी बसोवासका लागि टेण्ट उपलब्ध गराएर सहयोग गरेको पीडित चेरिया चौधरीले बताउन भयो ।
उहाँले भन्नु भयो–‘अल्पकालीन सहयोग प्राप्त भएपनि दिर्घकालिन सुरक्षित आवासको लागि अझैसम्म स्थानीय र प्रदेश सरकारले कुनै चासो देखाएको छैन् ।’

स्थानीय निर्वाचनको चहलपहल भइरहेको समयमा आगजनी भएकोले सो समयमा राजनीतिक दलका नेताहरुले घर बनाइ दिने आश्वासन दिएर भोट माग्न आएको भएपनि निर्वाचन सकिएपछि कसैले चासो नदिएको पीडित विश्राम चौधरीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो—‘आगलागी भएर घरवारविहिन भएको झण्डै एक वर्ष पुग्यो । कष्टकर जिवन बिताइरहेका छौँ । तर, सरकार भए नभएको महसुस गर्न सकिएको छैन् । घर निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।’

शिविरका ६० जना बालबालिकाहरुका कपी, किताब तथा ड्रेस जलेर नष्ट भएपछि किताब र ड्रेस बिनानै विद्यालय जानु पर्ने बाध्यताका कारण एसइइको परीक्षामा चार जना बालबालिका अनुत्तिर्ण भएको भलमन्सा हिङ्गु चौधरीले बताउनु भयो ।
उहाँले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिकहरुलाई टेण्टमा राख्दै आइरहेको र पुरुषहरुले बाहिर त्रिपाल तथा टीनको छाप्रो बनाएर असुरक्षित ओटमा कष्टकरण जिवन बिताउनु परेको बताउनु भयो ।

आगजनीबाट २७ घरमा पूर्ण, १६ घरमा आंशिक र २१ घरमा सामान्य क्षति भएको र क्षतिको विवरण संकलन गर्दा आगलागीबाट २ करोड ८७ लाख ५९ हजार ८ सय रुपियाँ बराबरको क्षति हुन गएकोे कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनु भयो ।
प्रदेश र गाउँपालिकाको संयुक्त वजेटमा पूर्णरुपमा जलेर नष्ट भएका २७ घर पुनर्निर्माण प्रक्रियामा रहेको र आंशिक रुपमा क्षति भएका १६ र समान्य क्षति भएका २१ घरको पुनर्निर्माण कार्यका लागि आर्थिक वर्ष ०८० / ०८१ मा वजेट विनियोजन गर्ने योजना रहेको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनु भयो ।
