INSEC Online

📅 २०८३ जेष्ठ २१

मापदण्ड पुगेका विद्यालयको कक्षा कटौती, स्थानीयद्वारा विरोध

कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरूको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको छ ।

गाउँपालिकाले मापदण्ड पुगेका विद्यालयहरूको कक्षा कटौती गरिदिएपछि विरोध सुरु भएको हो । गाउँपालिकाले हालै एक दर्जन बढी विद्यालयहरूको कक्षा कटौती गर्ने निर्णय गरेको छ ।

वडा नम्बर ५ स्थित देउराली आधारभूत विद्यालयलाई प्राथमिक तहमा घटुवा गरिएपछि स्थानीयले वडा कार्यालयमा धर्ना र नाराबाजी गर्दै निर्णय फिर्ता लिन समय दिएको स्थानीय सविन थामीले जानकारी दिनुभयो ।

स्थानीयले गाउँपालिकाको निर्णयले विद्यार्थीको हित र मापदण्ड विपरीत भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

अविभावकहरूको भेलाले निर्णय नसच्चिएसम्म वडा कार्यालयमा तालाबन्दी गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले आवश्यकता र मापदण्ड उल्लङ्घन गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा अनुचित निर्णय गर्न थालेको स्थानीयको आरोप छ ।

देउराली विद्यालयमा मापदण्डले तोकेकोभन्दा विद्यार्थीको सङ्ख्या धेरै छ । ‘बदनियत राखेर विद्यालय बन्द गर्न खोजिएको छ । यो निर्णय विद्यार्थीको भविष्यमाथि खेलबाड हो’, पूर्व वडाध्यक्ष सुवास थामीले भन्नुभयो ।

गाउँपालिकाले हालै देउरालीसहित १४ ओटा विद्यालयको कक्षा कटौती गर्ने निर्णय गरेको थियो । अन्य केही विद्यालयमा पनि विद्यार्थीको चाप हुँदाहुँदै कक्षा कटौती गरेपछि स्थानीयले विरोध सुरु गरेका हुन् ।

गाउँपालिकाले भने विद्यार्थी र शिक्षकको सङ्ख्या तथा अन्य विद्यालयको दूरीलाई मध्य नजर गर्दै कक्षा कटौती गर्ने निर्णय भएको दाबी गरेको छ ।

अन्य

भिडियो