बारा, चितवन र तनहुँका एकएक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ ।
तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थानमा पुनः निर्वाचन हुन लागेको हो । त्यसैगरी बारा-२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थानमा पुनः निर्वाचन हुन लागेको हो ।
चितवन-२ बाट निर्वाचित रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी देखिएपछि सांसद पद खारेजीमा परेका कारण सो स्थानमा पुनः निर्वाचन गरिएको हो ।
रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउनु परेको हो ।
निर्वाचनका क्रममा आचारसंहिता विपरितका गतिविधि भएका भएपनि उजुरी नपरेका कारण कारवाही नभएको पाइएको इन्सेकद्वारा परिचालित पर्यवेक्षक एवम् इन्सेक प्रतिनिधिले जनाएका छन् ।
निर्वाचन आयोगका अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र २ मा १ लाख ५ हजार २ सय ४८ जना, चितवन जिल्ला निर्वाचन क्षेत्र २ मा १ लाख २४ हजार ६ सय ५९ जना र तनहुँ जिल्ला निर्वाचन क्षेत्र १ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।
उपनिर्वाचन हुने तीन जिल्लाका लागि १ सय ९४ मतदानस्थल र ४ सय २७ मतदान केन्द्र रहेका छन् । बारा जिल्लामा ८२ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र रहेका छन् ।
चितवन जिल्लामा ४३ मतदानस्थल र १ सय ३८ मतदान केन्द्र रहेका छन् भने तनहुँ जिल्लामा ६९ मतदानस्थल र १ सय ५२ मतदान केन्द्र रहेका छन् । 