चितवन प्रहरीले ०८० वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ को उपनिर्वाचन सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था सहित निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीको परिचानल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, चितवन क्षेत्र क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १ हजार २ सय ७० जना प्रहरी खटिएका छन् । निर्वाचनको सुरक्षाका लागि बाहिरी जिल्लाबाट ८ सय प्रहरी आएका छन् । सोही मात्रामा बाहिरी घेरामा ससस्त्र प्रहरी र नेपाली सेनाले समेत निर्वाचनको सुरक्षामा खटिने छन् ।
तनहुँ र बारा जिल्लामा भन्दा चितवन संवेदनशील जिल्ला भएको र प्रहरीले विशेष गरि भरतपुर बजार क्षेत्रका केन्द्रलाई यसपटक संवेदनशील रुपमा लिएको कार्कीले बताउनु भयो ।
विगतमा भौगोलिक विकटताका कारण सुरक्षा चुनौती हुन्थ्यो । अहिले बजार क्षेत्र अति संवेदनशील छन् भने बजारका केन्द्रमा भिड जम्मा हुने अवस्था भएको उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनले १३ ओटा मतदान केन्द्रलाई संवेदनशील रुपमा लिएको र सोही अनुसार प्रहरीले प्रत्येक बुथमा कम्तिमा एक दर्जन प्रहरी खटाएको छ ।
एउटा केन्द्रमा १२ जना प्रहरी हुन्छन् । बुथ थपिँदै गए पाँच जनाका दरले प्रहरी थपिन्छन् र ६ देखि आठ ओटा बुथ भएको ठाउँमा प्रहरीको कमाण्डमा प्रहरी परिचालित हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक कार्कीले बताउनु भयो ।
आम निर्वाचनमा एउटा बुथमा दुई जना प्रहरी र पाँच जना म्यादी प्रहरी परिचालित हुन्थे । उनीहरूले चार ओटा मतपेटिकाको सुरक्षा गर्नुपर्थ्यो ।
अहिले एउटा मतपेटिकाको लागि १२ जना प्रहरी खटिने छन् । चितवन निर्वाचन क्षेत्र नं. २ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता रहेका छन् । मतदान स्थल ४३ र मतदान केन्द्र १ सय ३८ छन् ।