भक्तपुरमा दैनिक तीनदेखि पाँच जना कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गएपनि अस्पतालहरूले उपचारको सेवा बृद्धि गर्ने, आइसियू, सिसियू, अक्सिजन प्लान्ट सञ्चालन, छुट्टै डेक्स स्थापना, कोरोना युनिट बनाउने जस्ता तयारी भने कुनै अस्पतालले नगरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनु भयो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत जिल्लाका अस्पतालहरूलाई कोरोना सङ्क्रमित बढेमा तत्काल उपचार गर्नसक्ने गरी तयारी नभएको प्रमुख मिजारले जानकारी दिनुभयो ।
तर भक्तपुरका अस्पतालहरूले पनि अहिलेसम्म पनि कोरोना महामारीमा अपनाउनु पर्ने सावधानी र उपचारका लागि तयारी भने सुरु गरेको छैन ।
कोरोना सङ्क्रमण बढ्दै गएको तर अस्पतालहरूले उपचारको तयारी भने सुरु नगरेको प्रमुख मिजारले बताउनु भयो ।
कोरोना सङ्क्रमितका बिरामीको पहिचान भइरहेको जानकारी दिँदै उहाँले ज्वरोको बिरामी बढे पनि अस्पतालसम्म नआउने बिरामी धेरै भएकाले यसको सङ्ख्या अझै बढ्न सक्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकारले नै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ, हाम्रो कार्यालयले पनि जिल्लाका अस्पतालहरूलाई कोरोना सङ्क्रमितको उपचारका लागि तयार रहन निर्देशन दिइसकेका छौँ, तर तयारी गरेको जानकारी आएको छैन, अब हामी कडाई गर्दै वैशाख पहिलो साता पछि अनुगमन गर्छौँ ।”
भक्तपुरका विभिन्न अस्पतालमा अहिले १७ जना कोरोना सङ्क्रमित रहेको र जसमध्ये चार जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । अन्य बिरामी घरमै आइसोलेसनमा बसेको उहाँले बताउनु भयो ।
भक्तपुर अस्पतालले विगत महामारीमा जस्तो ठूलो तयारी नगरे पनि आएको बिरामीको उपचार भने गरिरहेको जनाएको छ । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा. सुमित्रा गौतमले भन्नुभयो, “कोरोना सङ्क्रमण बढेर बिरामी भर्ना गर्नु पर्ने अवस्था आएमा हामी तत्कालै तयारी गर्न सक्छौँ, तर अहिले त्यसैका लागि भनेर छुट्टै संरचना र जनशक्ति भने तयार पारेको छैन ।”
उहाँले कोरोना महामारीमा बनाएको १६ शैयाको आइसियू अहिले पनि चालु रहेको तर अहिले आइसियूमै राख्नु पर्ने कोरोनाका बिरामी नभएकाले भन्दै उहाँले आइसियूमा अन्य बिरामीको उपचार गरिरहेको बताउनु भयो ।
जिल्लामा रहेका सहिद गङ्गालाल मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पतालले भने कुनै पनि तयारी गरेका छैनन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अहिले कुनै तयारी नगरेको तर आवश्यक परे गर्न सकिने बताउनु भयो ।
भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले पनि अस्पतालले अहिले कोरोना सङ्क्रमितको उपचारका लागि तयारी नगरेको जानकारी दिनु भयो ।
जिल्लाका चार ओटा नगरपालिका मध्ये भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वोप अस्पताल, सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्प्ताल, चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पताल र मध्यपुर नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालमध्ये कुनै अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचार गर्ने गरि तयारी नगरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताउनु भयो ।
त्यस्तै निजी अस्पतालले पनि कुनै तयारी नगरेको उहाँले जानकारी दिनुभयो । भक्तपुरमा निजी रुपमा सिद्धिस्मृति बाल तथा महिला अस्पताल, मध्यपुर अस्पताल, इवामुरा मेमारियल अस्पताल, नागरिक कम्युनिटी अस्पताल, आरोग्य अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल, समिट अस्पताल सञ्चालनमा छन् । ती कुनै पनि अस्पतालले कोरोना सङ्क्रमित बिरामी राख्ने गरि तयारी नगरेको उहाँले भन्नुभयो ।
कोरोना महामारीका बेलामा सरकारको बजेटबाट यहाँका अस्पतालले सञ्चालनमा ल्याएका आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्टसमेत अहिले बन्द गरेर राखेको उहाँले जानकारी दिनुभयो ।
सरकारले दिएको बजेटले स्थापना गरेका संरचनासमेत सञ्चालनमा नल्याएको भन्दै उहाँले वैशाखदेखि अस्पतालहरूलाई कोरोना सङ्क्रमितको उपचारका लागि तयारीमा राख्न कडाइ गरिने कार्यालयका प्रमुख मिजारले बताउनु भयो ।