जिल्लास्थित ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्या बैङ्क मार्फत वितरण गरिन थालेपछि थप सास्ती खेप्नु परेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाइ व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने नाममा के.आई. सिं गाउँपालिका स्थित एनएमबि बैङ्कमार्फत भत्ता वितरण गर्न थालिएपछि आफूहरुले सास्ती खेप्नु परेको स्थानीय ज्येष्ठ नागरिक तथा एकल महिलाहरुले गुनासो गर्नु भएको हो ।
गाउँ, टोलमा वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता रकम अहिले आएर बैङ्कमार्फत वितरण गर्न थालेपछि आफूहरुले सास्ती खेप्नु परेको के.आई. सिं गाउँपालिका—५ का ज्येष्ठ नागरिक नरपता भुलले दुखेसो पोख्नु भयो ।
उहाले भन्नु भयो– ‘पहिले वडामा वितरण गर्दा सहज रुपमा पाउने गरेका थिएउ । अहिले बैङ्कबाट लिन बाध्य बनाइयो । दिनभरी लाइनमा बस्दा पनि पालो पाउदैन ।’
गाउँपालिका भरीका सेवाग्राहिहरु भत्ता वितरणका दिन एकैपटक आउने गरेका कारण थप सास्ती खेप्नु परेको के.आई. सिं गाउँपालिका–६ की तुलछीदेवि जोशीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘तीन घण्टाको पैदल बाटो हिडेर बैङ्क आउनु पर्छ । भत्ता बुझनेहरुको भिडभाडले सामाजिक सुरक्षा भत्ता नलिइ रित्तै फर्किनु परेको छ ।’
सामाजिक सुरक्षा भत्ता वितरणको दिन सेवाग्राहीहरुको कोलाहल र भिडभाडका कारण सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको एनएमबी बैङ्क, वायल शाखाका निमित्त प्रमुख भरत बमले बताउनु भयो ।
उहाँले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई टोलस्तरीय बनाएर मिति तोकेर वितरण गर्न सकेको खण्डमा सेवाग्राहीले खेप्नु परेको दुःखमा सहजता आउने बताउनु भयो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्य असहज हुँदो गएको जानकारी प्राप्त भएपछि यस बिषयमा गाउँपालिकामा छलफल भइरहेको के.आई.सिं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनु भयो ।
उहाँले सेवाग्राहिहरुलाई सहज वातावरणमा सेवा दिन गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का सेवाग्राहिलाई एनएमबी बैङ्क, वायल शाखामा र वडा नम्बर ५, ६ र ७ का सेवाग्राहिहरुलाई दिपायल शाखामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने गरी छलफल भइरहेको बताउनु भयो ।