INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रमुख निर्वाचन आयुक्तलाई कालो झण्डा

राजपा नेपालका नेता, कार्यकर्ताहरूले गृहजिल्ला आएका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई जेठ २८ गते कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको सरोकारवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा आएका डा. यादवलाई राजपाका स्थानीय नेताहरूले कालो झण्डा देखाएर निर्वाचन विरोधी नाराबाजी गरे ।

सिडिओ निवासस्थित कार्यक्रमस्थलमा छिर्दै गर्दा निर्वाचनको विरोधमा रहेका राजपाका नेता, कार्यकर्ताहरूले आफूहरूको माग पुरा नहुञ्जेल निर्वाचन हुन नदिने भन्दै कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रम सुरू भएको केहीबेरसम्म सिडिओ निवासबाहिर प्रदर्शनकारीहरूले निर्वाचन विरोधी चर्को नाराबाजी गरे । कालो झण्डा देखाएर प्रदर्शनमा उत्रिएका राजपा कार्यकर्ताहरूलाई सिडिओ कृष्णबहादुर कटवालका साथै एसपी अनुराग द्विवेदी, डिएसपी यादवराज उप्रेती, सशस्त्र एसपी रामआधार यादवले संयमित बनाउने प्रयास गरे ।

राजपाका कार्यकर्ताहरूले आफ्नो कार्यक्रम बिथोल्दै तोडफोड गरेको भन्दै अन्तरक्रिया कार्यक्रममा पुगेका राजविराज नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार सुखराम यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्षका उम्मेदवार अशोक यादवले निर्वाचनको वातावरणको माग गरे ।

आयुक्त यादवले उक्त घटनालाई गम्भीर रूपमा लिएको भन्दै त्यहाँ उपस्थित स्थानीय सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा व्यवस्था चुस्त पार्न र छानबिन गरेर जानकारी दिन निर्देशन दिए ।

अन्य

भिडियो