गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानी बस्ने ८२ वर्षीय शमशेरबहादुर थापा मगरलाई ०७९ चैत १३ गते अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
आफ्नै घरमा बसिरहेको अवस्थामा थापामगरमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै ज्यान गएको गोकुलगंगा गाउँपालिका–४ वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट थापामगरको दाहिने हातको औँला छिनेको तथा टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।
थापामगरको पत्नी बिरामी भएर उपचारको लागि काठमाडौँ जानुभएको थियो । उहाँसँगै घरमा रहेकी छोरी समेत घर बाहिर गएको बेला थापामगरमाथि आक्रमण भएको थियो ।
घटनापछि पाखाको जङ्गलमा दुई तीन ओटा टर्च बलेको देखिएको स्थानीय विनोद फुयाँलले बताउनु भयो ।
शवको पोष्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा चैत १४ गते गरिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको रामेछापका इन्स्पेक्टर रञ्जन गिरीले जानकारी दिनुभयो ।
यसअघि पनि सो वडामा ७६ वर्षीया पदमकुमारी खड्काको घर भित्रै आधा शरीर जलेको अवस्थामा शव फेला परेको थियो । सो घटनाका दोषी समेत फेला परेका छैनन् । गाउँमा लगातार हत्याका घटना भएपछि गाउँमा त्रास फैलिएको स्थानीय विनोद फुयाँले बताउनु भयो ।